
बिहिवार , भाद्र २८, २०८०
तिलोत्तमा, २८ भदौ ।
पन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले संस्थाको रजत महोत्सवको अवसरमा उपभोक्ताको सेवा सुविधालाई मध्यनजर गरी १ हजारदेखि १४ हजार लिटर (१ देखि १४ युनिट) सम्मको महशुल रु.२० रुपैयाँ कायम गरेको छ ।
त्यस्तै संस्थाले १५ देखि २१ युनिटसम्म रु. १०२, २२ देखि ३५ युनिट सम्मप्रति युनिट रु. १६, ३६ देखि ५५ युनिटसम्म प्रतियुनिट रु. २० र ५५ देखि माथि प्रतियुनिट महशुल रु. २५ कायम गरेको छ ।
संस्थाको २५ औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले यसै आर्थिक वर्षदेखि नयाँ धारा जडान गर्ने उपभोक्तालाई संस्थाले निःशुल्क मिटर उपलब्ध गराउने जानकारी दिए ।
खानेपानी संस्थाले आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्म आफ्नो सेवा क्षेत्र भित्र ७ हजार ४८३ धारा जडान गरेको छ भने सोही अवधीमा ३२५ वटा नयाँ धारा जडान, २५१ वटा मिटर ठाउँसारी गरेको छ ।
त्यस्तै दैवी प्रकोप (आगलागी) नियन्त्रणका लागि तिलोत्तमा–३ को कार्यालय अगाडी, शंकरनगर चोक र शान्तिकुञ्ज चोकमा गरी ३ वटा फायर हाईड्रेण्ट जडान गरेको छ भने यस आर्थिक वर्षमा वनवाटिका अगाडी र तिलोत्तमा कलेज अगाडी थप २ वटा फायर हाईड्रेण्ट जडान गरिने अध्यक्ष भण्डारीले बताए ।
संस्थाको नवनिर्मित भवनको उत्तरतर्फ पार्क र पानीको फोहोरा निर्माण, सम्पुर्ण पाइपलाइनलाई व्यवस्थित गर्न थप ३० वटा चेम्बर निर्माण, रजत महोत्सवको अवसरमा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था रजत स्तम्भ निर्माण गरिने र सामूदायिक विद्यालयलाई दिइदै आएको पानी महशुलको ४० प्रतिशत छुटलाई निरन्तरता दिइएको अध्यक्ष भण्डारीले जानकारी दिए । त्यस्तै तिलोत्तमा ३ र ४ सिमानगरमा रहेका २ वटा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई संस्थामा एकीकरण गर्न पहल गरिने अध्यक्ष भण्डारीले बताए ।
साधारणसभामा तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरी देवी चौधरीले खानेपानी संस्था सामाजिक सेवा गर्ने संस्था भएकाले नागरिकलाई महत्व दिएर आफ्ना गतिविधि सञ्चालन गर्न आग्रह गरिन् । नगर उपप्रमुख चौधरीले खानेपानी संस्था सरसफाई समेत जोडिएकाले सरसफाईलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । हरेक नागरिकलाई स्वच्छ र सुरक्षित पानी वितरणका लागि प्रत्येक वडा र टोलमा ओभरहेड टंकी निर्माण गर्नुपर्ने उनले बताइन् ।
खानेपानी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले जलवायु परिवर्तन एवं औद्योगिक प्रदुषणले विश्वमा पानीका मुहान सुक्दै गएका कारण मानवीय जीवन कष्टकर बन्दै गएको बताए । नेपालमा पानीको उपलब्धता प्रसस्त रहे पनि नदी, खोला तथा समग्र पानीको उचित व्यवस्थापन नहुँदा पछिल्लो समय देशभरमै पानीको समस्या बढ्दै गएको चौधरीले बताइ । पानीका स्रोत तथा मुहान बचाउन सबै प्रकृतिको संरक्षणमा लाग्नुपर्ने चौधरीले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा एमाले नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष बेलप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका दधिराम पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राधिका पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रुस्तम कंडेल, तिलोत्तमा–२ का वडाध्यक्ष डिलबहादुर भट्टराई, खानेपानी संस्थाका संस्थापक अध्यक्ष केशवराज न्यौपाने, निवर्तमान अध्यक्ष हरि प्रसाद तिवारी, शंकरनगर दुर्गादत्त माविका चण्डी पाण्डे, खानेपानी संस्थाका उपाध्यक्ष केशव शर्मा तिवारी, सचिव कमला ज्ञवाली, पार्षदहरु संगिता गौतम अर्याल, ईन्द्रमणि अर्याललगायतले रुपन्देहीमै अब्बल संस्थाको रुपमा स्थापित खानेपानी संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्नेमा जोड दिए ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष मित्रलाल न्यौपानेले आर्थिक वर्ष ०८०/०८१ का लागि ३२ करोड ३ लाख ७० हजार ५०५ रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेका थिए ।
साधारणसभाले संस्थाका अध्यक्षको वार्षिक तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij