२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

गैडहवामा ईलाका प्रशासन कार्यालय राख्न गृहमन्त्रीसँग माग

बुधवार , भाद्र २७, २०८०

काठमाडौं, २७ असार ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै बुधबार प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडलले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गृह मन्त्रालयमा छलफल गरेका छन् ।

क्षेत्र नम्बर ५ मा पर्ने गैडहवा गाउँपालिका,  कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका ३२ वटा वडाका अधिकांश बासिन्दालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापनाको विषयमा छलफल भएको हो ।

त्यसक्रममा प्रतिनिधि सभा सदस्य घिमिरेले स्थानीय सरकारका जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालाहरुको सर्वदलीय बैठक बसी गरेको निर्णयको छायाँप्रतिसहित आफ्नो तर्फबाट ईलाका प्रशासन कार्यालय स्थापनाको मागसहितको पत्र गृहमन्त्री श्रेष्ठलाई प्रदान गरे । उनले क्षेत्र नम्बर ५ का ३२ वडाका अधिकांश नागरिकलाई जिल्ला सदरमुकाम भैरहवा पुगेर प्रशासनिक सेवा लिन कठिन रहेकोले यथाशीघ्र ईलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइदिन गृहमन्त्री श्रेष्ठसँग माग गरे । 

पायक पर्ने स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने यहाँका नागरिकको धेरै पहिलादेखिको माग रहेको उल्लेख गर्दै उनले यही सन्दर्भलाई लिएर स्थानीय सरकारका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेतालगायत सरोकारवालाहरुको सर्वदलीय बैठक बसेर अधिकांश जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयमा माग गर्ने निर्णय भएको समेत जानकारी दिए ।

त्यस्तै गाउँपालिका अध्यक्ष पौडेलले जनतालाई छिटोछरितो प्रशासनिक सेवा प्रदान गर्ने नेपाल सरकारको नीति समेत रहेकोले गैडहवामा ईलाका प्रशासन कार्यालय अनिवार्य रहेको बताए । उनले सामाजिक न्यायको लागि पनि क्षेत्र नम्बर ५ का बासिन्दाका लागि गैडहवामा नै ईलाका प्रशासन कार्यालय आवश्यक रहेको उल्लेख गरे ।