२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

सिडियो पाण्डेले रुपन्देहीले सम्झिरहने कार्य गर्नुभएको छ : सिद्धार्थ उवा संघ

बुधवार , भाद्र २७, २०८०

भैरहवा, २७ भदौ ।
उद्योगी–व्यवसायीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडियो) भरतमणी पाण्डेले जिल्लाले सम्झिरहने कार्य गर्नुभएको बताएका छन् । संघले मंगलबार भैरहवामा आयोजना गरेको ‘फेरी भेटौला कार्यक्रम’ मा उद्योगी–व्यवसायीले सिडियो पाण्डेले निजी क्षेत्रसँग सहकार्य गर्नुभएको बताए । पाण्डे गृह मन्त्रालय अन्तर्गत सरुवा भएका छन् ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारी पाण्डे रुपन्देहीमा रहँदा उहाँसँग अत्यन्तै सौहार्दपूर्ण तरिकाले सहकार्य भएको बताए । उनले बेलहिया नाकामा घरायसी प्रयोजनको नाममा आउने सामान भन्सार गरेर मात्र लैजानुपर्छ भन्ने ऐनमा रहेको र त्यो कार्यान्यवन हुनुपर्छ भनेर विगतदेखि नै निजी क्षेत्रले उठाउँदै आएको बताए ।

उनले भने, ‘प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा कार्यान्वयन भयो । यसको श्रेय उहाँलाई नै जान्छ उहाँले रुपन्देहीले सम्झिरहने कार्य गर्नुभएको छ । यसमा भन्सार प्रमुख र रुपन्देही प्रमुखले पनि साथ दिनुभयो ।’ नेपाली उपभोक्तालाई भारतीय बजार जान निरुत्साहित गर्ने कार्य पनि प्रजिअ पाण्डेकै कार्यकालमा भएको श्रेष्ठले बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद शर्माले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निजी क्षेत्रसँग सहकार्य गर्नुभएको बताए । उनले भने, ‘सिडियोसाबसँग हामी सम्वादमा रहन्थ्यौं । भैरहवालाई हेर्ने दृष्टिकोण सधै सकारात्मक रहोस् । थप आत्मीयता बढ्दै जाओस् ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले भने, ‘जसरी सिडियोसाबले सहयोग गर्नुभएको छ, निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्नुभएको छ । उहाँको सहयोग बिर्सनेछैनौ । ’ उनले व्यवसायीका समस्या समाधान गर्नेतर्फ पाण्डे लाग्नुभएको बताए । आचार्यले सिडियो पाण्डेको कारण सिद्धार्थ उद्योग वाणिज्य संघको गरिमा अझ बढेको बताए ।

निजी क्षेत्रबाट सहयोग भयो : पाण्डे

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आफ्नो १५ महिने रुपन्देही बसाईमा निजी क्षेत्रबाट सहयोग पाएको बताए । उनले व्यवसायीको मागअनुसार रात्रीकालीन बजार सञ्चालन गर्ने कार्यविधि बनाइएको बताए । उनले भने, ‘रुपन्देही सम्भावना बोकेको जिल्ला हो । जहाँ बढी मिश्रित समाज हुन्छ, त्यहाँ चाँडै विकास हुन्छ । मेरो रुपन्देही बसाईमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ’

प्रजिअ पाण्डेले सीमा नाका (भन्सार क्षेत्रमा) भएको कडाइले धेरै हदसम्म आन्तरिक बजार चलायमान बनाउन मद्दत पुगेको बताए । उनले यसमा निजी क्षेत्रबाट ठूलो सहयोग पाएको बताए । उनले निर्वाचन र विपद्मा स्थानीय प्रशासनको भूमिका अझ महत्वपूर्ण हुने बताए ।