२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

रुपन्देहीको सोना ईट्टा उद्योग बालश्रममुक्त घोषणा

बुधवार , भाद्र २७, २०८०

रुपन्देही, २७ भदौ । 
रुपन्देहीको सैनामैनास्थित सोना ईट्टा उद्योगलाई बालश्रममुक्त घोषणा गरिएको छ । रुपन्देहीमा सञ्चालित ४२ वटा ईट्टा उद्योगमध्ये बालश्रममुक्त घोषणा हुनेमा सोना ईट्टा उद्योग पहिलो उद्योग हो ।

बालश्रम मुक्त उद्योग घोषण गर्नका लागि आवश्यक पर्ने सबै मापदण्ड पूरा गरेपछि सोना इट्टा उद्योगलाई बालश्रममुक्त घोषणा गरिएको हो ।  

उद्योगमा काम गर्ने मजदूरका बालबालिकालाई औपचारिक शिक्षाका लागि बाल विकास केन्द्रको स्थापना, विद्यालय जाने उमेरका बालबालिकालाई पढ्नका लागि स्कूल पठाउने र बाल अधिकारको सुनिश्चित गरेपछि सोना ईट्टा उद्योगलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो) को सहयोगमा बालश्रम मुक्त उद्योग घोषणा गरिएको हो ।  

मंगलबार उद्योग परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी सोना ईट्टा उद्योगलाई बालश्रम मुक्त उद्योग घोषणा गरिएको हो । नेपाल ईट्टा उद्योग महासंघका निर्देशक बद्री कार्कीले सबै ईट्टा उद्योगहरुलाई बालश्रम मुक्त घोषणा गर्नुपर्ने र बालश्रम मुक्त नभएसम्म उद्योगहरु चलाउन नपाइने उल्लेख गरे ।  

सोही कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले कुनै पनि क्षेत्रमा बालश्रम गराउन नहुँने बताउंदै उद्योगहरुलाई मजदूरमैत्री बनाउन आग्रह गरे ।

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले सोना ईट्टा उद्योग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो)को सहयोगमा बालश्रममुक्त उद्योग घोषणा हुनु रुपन्देहीका उद्योगीहरुलाई गौरवको विषय भएको बताए । उनले क्रमश सबै ईट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिने बताए । अध्यक्ष गुप्ताले उत्पादन भएका ईट्टा विक्री नहुँदा व्यवसायीले बैंकको ब्याज पनि तिर्न नसक्ने अवस्थामा पुगेको बताए ।

सोना ईट्टा उद्योगका सञ्चालक विक्रमरत्न बज्राचार्यले उद्योगलाई पूर्ण रुपमा बालश्रममुक्त गर्ने प्रतिवद्धता जनाउँदै सबै श्रमिक र श्रमिक महिलामैत्री उद्योग बनाएर नमूना उद्योगका रुपमा चलाउने प्रतिवद्वता व्यक्त गरे ।

Itta.jpg

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल ईट्टा व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष केपी अबाल, श्रम तथा रोजगार कार्यालय रुपन्देहीका प्रमुख गिरीराज ज्ञवाली, सिद्वार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारी, घरेलु उद्योग महासंघका ध्रुव धिताललगायतले बोल्दै सोना ईट्टा उद्योग बालश्रममुक्त घोषणा भएकोमा खुशी व्यक्त गर्दै आर्थिक मन्दीका कारण व्यवसायी समस्यामा परेको बताए ।

यसअघि लुम्बिनीका ईट्टा व्यवसायीले लुम्बिनी प्रदेशका सबै ईट्टा उद्योगहरुलाई बालश्रममुक्त गर्ने प्रतिवद्वता जनाएका थिए । त्यस्तै रुपन्देहीका व्यवसायीहरुले पनि जिल्लाका सबै ईट्टा उद्योगहरुलाई क्रमशः बालश्रम मुक्त घोषणा गर्ने प्रतिवद्वता जनाएका छन् ।