२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

भैरहवामा राजेन्द्र लिङ्देनले भने–धर्म निरपेक्षताको आडमा धर्मान्तरले प्रश्रय पायो

मंगलवार , भाद्र २६, २०८०

भैरहवा, २६ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले धर्म निरपेक्षताको आडमा मुलुकमा धर्मान्तरले प्रश्रय पाएको बताएका छन् । उनले देश अहिले धार्मिक तथा जातीय द्वन्द्वको मुखमा पुगेको छ कि छैन भन्दै प्रश्न गरेका छन् ।

राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको नबीन राप्रपा कार्ययोजना अन्तरक्रिया तथा बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशमा धार्मिक तथा जातीय द्वन्द्व हुन नदिनका लागि सबै धर्मको बराबर सम्मानको साथ नेपालमा हिन्दू राष्ट्र हुनुपर्ने बताए । उनले भने, ‘हिन्दू धर्म मान्ने मानिस होइन इस्लाम धर्म मान्ने मानिसहरु पनि हिन्दू राष्ट्र चाहियो भन्ने अवस्थामा पुगेका छन् । 

नेपालमा बहुसंख्यक जनताले अर्थात ८१ प्रतिशत भन्दा बढी मानिसले हिन्दू धर्म मान्ने जनगणनाले पनि देखाइसकेको उनले बताए । अध्यक्ष लिङ्देनले भने, ‘धर्मको महलमा हिन्दू नलेख्ने तर, नेपालमा हिन्दू राष्ट्र चाहिन्छ भन्ने म जस्तो लिम्बुको छोरा लाखौंको संख्यामा छन् । ताहिर अली जस्ता मुसलमान र बुद्धिमान तामाङ जस्तो बौद्ध धर्म मान्ने लाखौं संख्यामा छन् । ’अहिले बहुसंख्यक जनता राजतन्त्र चाहिन्छ भन्ने अवस्थामा पुगेको उनले दावी गरे । जनमत संग्रह गर्ने हो भने ९० प्रतिशत जनता प्रदेश खारेजीको पक्षमा उभिने अध्यक्ष लिङ्देनले दावी गरे । 

राप्रपाको भविष्यमा यो देशको भविष्य निर्धारित रहेको दावी गरेक । उनले राप्रपालाई असफल हुने छुट नरहेको बताए । मुलुकले राप्रपाप्रति आशा गरेको बताए । उनले भने, ‘कांग्रेस, एमाले र माओवादी असफल भए यसले केही फरक पर्दैन् । तर, राप्रपालाई कमजोर र असफल हुने छुट छैन ।’ आफ्नो जीवनकालमा यो देश बनेको देख्ने चाहनेहरु अब एकठाउँ आउनुपर्ने बेला आएको उनको भनाइ छ ।

उनले अहिले नेपाल शक्ति राष्ट्रहरुको खेलमैदान बनेको बताए । उनले भने, ‘नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धास्थल बनेको छ । मुलुक शक्ति राष्ट्रहरुको प्रतिष्पर्धाको शिकार बन्न सक्ने खतरा छ । ’

कार्यक्रममा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले जनताले कामको मूल्यांकन गरेर दीपक बोहरालाई जिताएको बताए । उनले राप्रपा विचारमा स्पष्ट रहेको बताए ।

त्यस्तै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले २०८४ मा राप्रपा देशको अग्रणी शक्तिको रुपमा स्थापित हुने बताए । उनले भने, ‘देश अत्यन्तै कठिन अवस्थामा छ ।’

राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले भ्रष्टाचारविरुद्ध पार्टीले आवाज उठाइरहेको बताइन्  ।

राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले पार्टीमा अनुशासन जरुरी रहेको बताए ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी राप्रपामा प्रवेश गरेका नेता मातृका प्रसाद यादवले राप्रपालाई अगाडि बढाउन दिनरात लागिपर्ने बताए ।

IMG_8390.JPG

राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत तथा सचिव बलराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मातृका प्रसाद यादवसहित विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए ।