
मंगलवार , भाद्र २६, २०८०
काठमाडौं, २६ भदौ ।
संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । मंगलबार राति साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो । एमाले नेताहरू अहिले शिक्षण अस्पताल पुगेका छन् ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनी इलाम–२ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए। २०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद् बनेका थिए ।
२०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए। पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij