२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

जनता कांग्रेसको विकल्प हेर्न चाहँदैनन् : केन्द्रीय सदस्य रज्जाक

आइतवार , भाद्र २४, २०८०

भैरहवा, २४ भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले जनताले कांग्रेसको विकल्प हेर्न नचाहेको दावी गरेका छन् । उनले कांग्रेस लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयन र जनताको हितमा काम गर्ने पार्टी भएको बताए ।

वि.पी. कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवास्थित भीम अस्पतालमा आयोजना गरेको फलफूल वितरण कार्यक्रममा नेता रज्जाकले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालको सबै पार्टीले वि.पी. कोइरालालाई नेता मान्छ । प्रजातान्त्रिक समाजवादको विकल्प छैन । वि.पी. कोइराला महान पुरुष हो । उहाँको बारेमा वर्णन गरेर सकिदैन । ’

लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका नेता रज्जाकले सरकारमा जाँदा कांग्रेसले जनताको सोचाइ अनुसार काम गर्न नसकेको बताए । उनले त्यसको लेखाजोखा गर्दै सुधार आवश्यक रहेको बताए । उनले भने, ‘अहमता त्याग्दै सच्याएर अघि बढ्नुपर्छ ।’

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफ्लेले वि.पी. कोइरालालाई सम्झिदा लोकतान्त्रिक समाजवाद र जीवनलाई समाजप्रति समर्पित गर्ने वर्तमान आवश्यकता रहेको बताए । उनले भने, ‘त्यो आवश्यकतालाई हामी कांग्रेस नेतना कार्यकर्तालाई दिशामा अगाडि बढ्ने प्रेरणा मिलोस् ।’

कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले वि.पी. कोइरालाले जनता स्वस्थ हुनुपर्छ भन्नुभएको बताए । उनले जनता स्वस्थ भए मात्र मुलुकको विकास र समृद्धि हुन सक्ने बताए । उनले कांग्रेसले साउन ६ गते वि.पी. स्मृति दिवस र भदौ २४ गते वि.पी.को जन्मजयन्ती मनाउँदै आएको बताए । नेता खाणले वि.पी. स्मृति दिवसमा कांग्रेसले वृक्षारोपण कार्यक्रम गर्दै आएको बताए ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्व, पार्टीका केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला उपसभापति एवं सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको स्वागत तथा जिल्ला सचिव परमानन्द भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भीम अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।

IMG_8168.JPG