
आइतवार , भाद्र २४, २०८०
भैरहवा, २४ भदौ ।
समाजसेवी तथा व्यवसायी ओमकार गौचनले निधनले भैरहवाले एक असल अभिभावक गुमाएका एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले यस क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएका गौचनको निधनले समाजलाई अपुरणीय क्षति पुगेको बताए ।
जेसीआई सिद्धार्थ, नेपालले शनिबार भैरहवामा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्ने सहभागीहरुले स्व. गौचनमा समाजसेवाप्रति निकै नै मोह रहेको आफूहरुले पाएको बताए ।
स्व. गौचनको जीवनीमाथि प्रकाश पार्दै भैरहवा मर्निङवाक ग्रुपका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले भने, ‘उहाँले अरुलाई चिन्नुभन्दा उहाँलाई अरुले बढी चिन्थ्यो । उहाँले कसैको दुःख हेर्न सक्नुभएन ।’
स्व. गौचनले मर्निङवाक ग्रुपको नेतृत्व सम्हाल्नुभएको र समाजका लागि योगदान पुर्याउनुभएको श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष कमल जि.सी.ले जेसीआई सिद्धार्थका मानार्थ सदस्य ओमकार गौचनले समाजमा धेरै सहयोग गर्नुभएको बताए । उनले भने, ‘सिद्धार्थनगरका लागि उहाँले धेरै योगदान गर्नुभयो । उहाँको निधनप्रति अत्यन्तै दुःखी छौं ।’
त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ओमकार गौचनको निधनले भैरहवा क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताए । स्व. गौचनले २०५८ देखि २०६० सम्म सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको श्रेष्ठले बताए । उनले भने, ‘उहाँको समाजसेवाप्रतिको मोह थियो, उहाँले कहिल्यै अरुलाई निराश बनाउनुभएन ।’
नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले ओमकार गौचनलाई कर्मठ समाजसेवीको रुपमा चिनिने गरेको बताए । उनले स्व. गौचनले धर्म संस्कृति संरक्षणप्रति पनि उत्तिकै चासो देखाउनुभएको बताए । भट्टराईले लुम्बिनी गेटको निर्माण स्व. गौचनकै नेतृत्व तथा अगुवाइमा भएको बताए ।
जेसीआई सिद्धार्थ, नेपालका पूर्वअध्यक्ष ओम कुमार श्रेष्ठले ओमकार गौचन जस्तो व्यक्तित्व समाजको लागि आवश्यक रहेको बताए । उनले हरेक क्षेत्रमा स्व. गौचनको योगदान रहेको बताए । उनले भने, ‘उहाँको योगदानको समाजले कहिल्यै बिर्सन सक्दैन । ’
जेसीआई सिद्धार्थ, नेपालका पूर्वअध्यक्ष तथा साईकल सिटी भैरहवाका उपाध्यक्ष संगम न्यौपानेले स्व. गौचनको जीवनबाट धेरै कुरा सिक्न सकिने बताए । उनले भने, ‘स्व. गौचनले सोचेका तर पूरा नभएका काम पूरा गर्नुपर्छ ।’
भैरहवा मर्निङवाक ग्रुप (बी.एम.जी.) का कार्यबाहक अध्यक्ष बाबुराम के.सी.ले मुस्ताङमा जन्मिनुभएका गौचन राष्ट्रवादी भएको बताए । उनले भने, ‘उहाँ एकदमै मिलनसार, राष्ट्र व्यक्ति व्यक्तित्व ।’
थकाली समाज भैरहवाका अध्यक्ष शंकरमान भट्टचनले स्व. गौचनमा आफ्नो कारणले कसैले पनि दुःख नपाओस् भन्ने सोच रहेको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष रवि कुमार श्रेष्ठले स्व. गौचनको बारेमा जति भने पनि त्यो कम हुने बताए ।
जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष विष्णु पाण्डेले भैरहवाको एक असल अभिभावक गुमाउँदा निकै दुःख लागेको बताए ।
जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष कमल जि.सी.को अध्यक्षता तथा कोषाध्यक्ष लोकमणि भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच जेसीआई सिद्धार्थ, नेपालले मानार्थ सदस्य स्व. ओमकार गौचनको आत्माको चिरशान्तिको कामना तथा परिवारजनप्रति समवेदना व्यक्त गर्दै १३ दिनसम्म जेसीज सचिवालय बन्द गर्ने र कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको पूर्वअध्यक्ष ओम कुमार श्रेष्ठले बताए ।
२००० वैशाख २१ गते मुस्ताङमा जन्मेका ओमकार गौचनको २०८० भदौ १७ गते काठमाडौंमा निधन भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij