
आइतवार , भाद्र २४, २०८०
भैरहवा, २४ भदौ ।
आमा-सासुआमाहरुले थपडी बजाएर गीत गाए । छोरीबुहारीहरु मादलको तालमा नाँचे । मादल छोराहरुले बजाए । यस्तो तीज बिरलै देख्न पाइन्छ । भैरहवामा आयोजित ‘आमासँग तीज’ नामक कार्यक्रममा एक सहभागी सामाजिक अगुवा तथा सिद्धार्थनगर नगरपालिका–३ की पूर्व वडा सदस्य रुपमाया पुनले बताइन् ।
कार्यक्रमको प्रमुख अतिथि सहभागी आमाहरुमध्ये जेष्ठ आमा ८० बर्षिय विष्णु भट्टराई बनेकी थिइन् । उनले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरिन् ।
कार्यक्रममा सहभागी लोक गीत भाकाकी सोधकर्ता डा. लक्ष्मी पोख्रेलले भनिन्, ‘आमाहरुले गएका तीजका गीतहरु सुन्न पाउनु लोकगीत भाका सिक्न खोज्ने नयाँ पुस्तालाई तालिम कक्षा जस्तो हो । आमासँग तीज नामक कार्यक्रमले पुस्ताहरुका बीचमा बढ्दै गएको दुरी घटाउँछ ।
आमासँग तीज कार्यक्रमको आयोजना ८५ औं लिडरसीप स्किल्ल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) का प्रशिक्षार्थीहरु र उनका आभिभावहरुसँग गरिएको थियो । उक्त कार्यक्रमकी अध्यक्ष व्यवसायी पुजा आचार्यले कार्यक्रममा उपस्थित सम्पूर्ण आमाहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा आमाहरुलाई उपहार पनि दिइएको आचार्यले बताइन् ।
कार्यक्रमकी संयोजक अनुपमा पाण्डेले स्वागत गरेकी थिइन् । पाण्डेले भनिन्, ‘यो कार्यक्रममा दाजु भाइले मादल बजाएर हामीसँग नाचे त्यसैले आमासँगको तीजमा दाजुभाइसँगको पनि तीज भयो ।’ कार्यक्रमको सञ्चालन सामाजिक अगुवा माया कंडेलले गरेकी थिइन् ।
कार्यक्रममा आमाहरुले पनि मंचमा अगाडी उभिएर आफ्नो परिचय दिए र आफ्ना अनुभव सुनाए । यसले लिडरसीप स्किल्ल्स डेभलपमेन्ट तालिमलाई आफ्नो लक्ष्यतर्फ अगाडि बढ्न हौसला मिलेको तालिमका सहजीकरण सहयोगी तथा तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य अभिनव मयूर कसौधनले बताए ।
भैरहवास्थित एसियन बुद्ध होटलमा भएको कार्यक्रममा ७० जनाको सहभागीता रहेको थियो । कार्यक्रम सधैझैं तालिम अवधिमा बिहान ८ बजेदेखि १० बजेसम्म भएको व्यवस्थापन समितिका सदस्य त्रिलोकी तेलीले जानकारी दिए । सोहीअवसरमा दर खुवाउने कार्यक्रम पनि गरिएको थियो । दर खुवाउन नारायण आचार्य, विरेन्द्र ज्ञवाली, अभिनव मयूर कसौधन, हरिश सेठिया, त्रिलोकी तेली, विशाल जयसवाललगायतले जिम्मा लिएका थिए ।
तालिमले हरेक समुदाय, लिङ तथा क्षेत्रलाई भावनात्मक रुपमा जोडेको व्यवस्थापन समितिका अर्का सदस्य मदन प्रसाद पौडेलले सुनाए । कार्यक्रमले युवाहरुलाई प्रेरणा दिएको तालिमका प्रशिक्षार्थी संजोग राजले बताए ।
लिडरसीप तालिमका संस्थापक तथा मुख्य प्रस्तोता विजय पाण्डे हुन् । ‘तालिममा आमासँग तीज मनाएर हामीले आफ्नो मौलिक संस्कृतिका बारेमा सिक्न सकिन्छ भनेर नै यो कार्यक्रम गरेका हौं, ’सिद्धार्थ संजाल रुपन्देहीका कार्यसमिति सदस्य हरिश सेठियाले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij