
शनिवार , भाद्र २३, २०८०
भैरहवा, २३ भदौ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बाँकेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दाङबाट बर्दियातर्फ जाँदै यात्रुबाहक बस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा दुर्घटना हुँदा ७ जनाको निधन भएको समाचारले दुःखी बनाएको उनले बताए ।
मन्त्री पाण्डेयले सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका छन् । उनले घाइते यात्रुहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
शुक्रबार राती सवा ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित शमशेरगन्जमा दुर्घटना भएको हो । दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।बसमा चालकसहित ४१ जना सवार थिए ।
उनीहरू सबै बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij