२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

रियालिटी शो ‘सेफ नेपाल’ आजदेखि प्रसारण हुँदै

शुक्रवार , भाद्र २२, २०८०

काठमाडौं, २२ भदौ ।
पाककला सम्बन्धी प्रतिष्पर्धात्मक रियालिटी शो ‘सेफ नेपाल’ आजदेखि प्रसारणमा आउँदैछ । नेपालमा पहिलोपटक पाककला सम्बन्धी रियालिटी शो सुरु हुन गइरहेको धर्म पिक्चर्सका अध्यक्ष तथा ‘सेफ नेपाल’ का निर्माता धर्मराज पाण्डेले जानकारी दिए । कार्यक्रममार्फत रैथाने खाना, बाली तथा वस्तु सहित ग्यास्ट्रोनोमीको पनि प्रवर्द्धन हुने पाण्डेको दावी छ ।

प्रत्येक शुक्रबार राति ९ बजेदेखि एक घण्टा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शो लगभग ४ महिना प्रशारणमा रहनेछ । ०७९ वैशाखमा फुड रियालिटी सो ल्याउने घोषणा गरे पनि विविध कारणले ढिलाइ भएको थियो । ‘झण्डै डेढ वर्ष लाग्यो बजारमा ल्याउन, पहिलोपटक अनलाइन अडिसन आह्वान गर्यौैं । आफ्नो परिचय र मनपर्ने खाना पकाएको भिडियो पठाउन भन्यौं ।’

निर्माता धर्मराज पाण्डेका अनुसार अनलाइनमा आएका आवेदनमध्येबाट १ सय जनालाई सर्टलिस्ट गरिएको थियो । ‘अनलाइन आवेदन ५ सयभन्दा बढीको आएको थियो, त्यसभित्र अधिकांश आवेदन सेफहरूको आएको थियो,’ उनले भने, ‘तर हामीले अमेच्योर र अन्प्रोफेशनलहरूलाई मात्र छनोट गर्यौं ।’ 

सेफ नेपालले खल्तीसँगको साझेदारीमा ‘खल्ती क्विज’ समेत ल्याउने जनाएको छ । हरेक एपिसोडको अन्तिममा सोधिने प्रश्नको सही उत्तर दिने दर्शकलाई गोलाप्रथामार्फत छनोट गरी विजेतालाई हरेक साता ५० हजारसम्मको गिफ्ट ह्याम्पर प्रदान गर्ने सेफ नेपालले जनाएको छ । 
हरेक एपिसोडमा घोषणा हुने ‘उत्कृष्ट डिस’ लाई बजारमा रहेका विभिन्न रेस्टुरेन्ट तथा क्याफेमा उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको पाण्डेको भनाइ छ । आयोजक सेफ नेपालका अनुसार विजेतालाई २५ लाख रुपैयाँ नगदसहित विभिन्न अवसरहरू प्रदान गरिनेछ । 

सेफ नेपाल र भाइबर को पनि सहकार्य भएको छ । भाइबरमा सेफ नेपालको च्यानल रहेको छ जसमा अहिले नै ५० हजार भन्दा बढी दर्शकहरु आबद्ध भइसकेका छन । सेफ नेपालको भाइबर च्यानलमा हरेक हप्ता रेसिपी प्रतियोगिता गराइने छ, हप्ताको एक उत्कृस्ट रेसिपिले नगद रु. १० हजार जित्न सक्नु हुनेछ ।  

रियालिटी सोमा सेफ सन्तोष शाह, सेफ गणेशबहादुर ढकाल र भान्से लक्ष्मणप्रसाद भण्डारी नै निर्णायक छन् भने नायिका प्रियंका कार्की कार्यकारी निर्माता छन्  । प्रतिष्पर्धामा नेपालको कुनाकुनाका विभिन्न समुदायबाट प्रतिनिधित्व गरी प्रतिस्पर्धीहरू आएका सेफ सन्तोष शाहले बताए । ‘नेवारी, शेर्पा, लिम्बूलगायत विभिन्न समुदायका प्रतिष्पर्धीहरू आउनुभएको छ,’ उनले भने, ‘एक समुदायले अर्को समुदायको खाना बनाएको हेर्न, सिक्न र खान पनि पाउँछन् । यसले फुड टुरिज्मलाई धेरै नै सहयोग गर्छ ।’ 

सेफ नेपाल शो हेर्न अब हरेक शुक्रबार राती ९ बजे कान्तिपुर टिभी खोल्नु पर्ने छ । सेफ नेपालको युट्युब च्यानल मा पनि टिभीको प्रशारण समय पश्चात हेर्न सकिने छ । सेफ नेपालको बारेमा जानकारी तथा सूचना सामाजिक सन्जाल तथा सेफ नेपालको फेसबुक, इन्स्टग्राम आदिमा उपलब्ध छ ।