
बिहिवार , भाद्र २१, २०८०
भैरहवा, २१ भदौ ।
नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस रुपन्देहीको भैरहवामा पनि मनाइएको छ ।
रेडक्रस सोसाइटी रुपन्देही शाखाको आयोजनामा जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
१८ वटा विद्यालयका १८ जना विद्यार्थी सहभागी प्रतियोगितामा रामापुर विद्यालयका सुविन घिमिरे प्रथम, सरस्वती ज्ञान निकेतन माविका एलिसा घिमिरे द्वितीय र उजीर सिंह माविकी समीक्षा विक तेस्रो भएका छन् ।
त्यसै गरी न्यू एकेडेमी बोर्डिङ स्कुलकी सुदिक्षा थापा र दिप ज्योति इङलिस स्कूलकी अंसिका चौधरी सान्त्वना भएको निर्णयक शंकर पन्थीले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वितीय हुनेलाई रु.४ हजार नगदसहित प्रमाणपत्र, तृतीयलाई रु. ३ हजारसहित प्रमाणपत्र र सान्त्वना हुने २ जनालाई रु. २/२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको रेडक्रसका वरिष्ठ अधिकृत कृष्ण मल्लले जानकारी दिए ।
रेडक्रस रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले कार्यक्रमको उद्घाटन गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गरे । उनले रेडक्रसले हरेक विपद् र आपतमा गरेको कामको प्रशंसा गरे ।
कार्यक्रम संयोजक टेक बहादुर थापाको स्वागत मन्तव्य तथा रेडक्रस रुपन्देहीका मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ अधिकृत कृष्ण मल्ल, उपाध्यक्ष मित्रलाल न्यौपाने, अर्जुनराज उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij