
बिहिवार , भाद्र २१, २०८०
भैरहवा, २१ भदौ ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले २०८० सालको कक्षा १२ को परीक्षा ३.० र सो भन्दा माथि जीपीए ल्याउने विद्यार्थीहरु तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुलाई सम्मान गरेको छ । अनेरास्ववियु सिद्धार्थनगरले बुधबार आयोजना गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा १० वटा विद्यालय र २८० जना विद्यार्थीलाई सम्मान गरिएको अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा सिद्धार्थनगर विद्यार्थी इञ्चार्ज सरोज ठकुरीले बताए ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीले अहिलेका विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा स्थापित भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अनेरास्ववियुले अब कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको बताए । उनले भने, ‘तालाबन्दी गरेर, सडकमा टायर बालेर र प्रहरीमाथि ढुंगा प्रहार गरेर शैक्षिक समस्या समाधान हुन सक्दैनन् । ’ उपाध्यक्ष गिरीले नेपाली विद्यार्थीहरुले नेपालकै विद्यालयमा कसरी रोक्न सकिन्छ भन्ने अहिलेको मुख्य चुनौती रहेको बताए । उनले मुलुक संघीयतामा गइसके पनि संघीय शिक्षा ऐन लागू हुन नसक्ले बताए ।
उनले संघीय शिक्षा ऐन लागू हुनुपर्ने माग गरे । विद्याथीहरुको भविष्य नेपालमै छ भनेर मनोविज्ञान बनाउनुपर्ने र त्यसका लागि शिक्षालाई सीपसँग जोड्नुपर्ने उनको भनाइ छ । एमाले नेतृत्वको सरकारले शिक्षा सम्बन्धी राम्रा कार्यक्रमहरु अघि बढाएको उनले दावी गरे ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य तथा प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज लेखनाथ खनाल, केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज साजन भण्डारी, पूर्व केन्द्रीय सदस्य तथा सिद्धार्थनगर विद्यार्थी इञ्चार्ज सरोज ठकुरी, रुपन्देही जिल्ला सदस्य मनिषा कार्की लगायतले बोल्दै शिक्षा क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।
अनेरास्ववियु सिद्धार्थनगर कमिटीका अध्यक्ष के.एल.पाण्डेको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष धर्म गिरीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर उपाध्यक्ष पवन न्यौपानेको स्वागत तथा सचिव संजोग बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका, रुपन्देही, नेपथ्य कलेज, एक्सपर्ट एजकुशेन एण्ड भिसा सर्भिसेज र साई ग्लोबल माध्यमिक विद्यालयको सहयोग रहेको अनेरास्ववियु सिद्धार्थनगरले जनाएको छ । त्यस्तै कार्यक्रमका हस्पिटालिटी पार्टनर होटल पौवा, भैरहवा रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij