
बुधवार , भाद्र २०, २०८०
बुटवल, २० भदौ ।
रुपन्देहीको बुटवलबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन बुधबार (आज) देखि १६ औं वर्षमा प्रवेश गरेको छ । शान्तिका लागि संचार अभियानद्वारा सञ्चालित टेलिभिजन वि.सं. २०६५ सालको ‘श्रीकृष्णजन्माष्टमी’ का दिन स्थापना भएको थियो ।
१५ औं वार्षिकोत्सव टेलिभिजनले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउन सुरु गरेको हो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सवको शुभारम्भ समारोहको गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी र सञ्चार गृह संवेदनशील बन्नुपर्नेमा जोड दिए । अहिलेको अवस्था जटिल र संवेदनशील रहेको भन्दै समाजका लागि सही सुचना दिनुपर्ने उनको भनाइ छ ।
उपमहानगरपालिकाले सबै सञ्चारमाध्यमलाई समान दृष्टिकोणले हेर्ने गरेको बताउँदै बुटवलका सबै सञ्चार माध्यमको स्तरवृद्वि गर्नको लागि अभिभावकत्व निर्वाहमा भेदभाव नहुने र बजेट समेत विनियोजन गरेको बताए । नगरप्रमुख पाण्डेयले सञ्चारमाध्यम पूर्वाग्राही नभइ विश्वसनियता कायम राखेर अघि बढ्न आग्रह गरे । उनले बुटवलले छाडा चौपायाको व्यवस्थापनको लागि नयाँ कार्यविधि बनाएकोे बताउँदै गौशाला धार्मिक संस्थाबाट सञ्चालनको तयारी गरिएको जानकारी दिए । प्रदेशस्तरीय गौशाला सञ्चालन गरेर छाडा चौपाया व्यवस्थापनमा सहज हुने र यसको लागि स्थानीय सरकारले पनि सहयोग गर्ने उनले बताए ।
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता प्रा.डा. बुद्व बहादुर थापाले मुलुक अहिले संघीयताको अभ्यासमा रहेकाले प्रदेशमा धेरै कानून निर्माण र संशोधन गर्नुपर्ने अवस्था रहेको बताए । प्रदेश सरकारले मिडिया सम्बन्धी ऐन बनाएको र तत्काल निर्देशिका बनाएर मिडियामैत्री बनाउने तयारी गरिएको उनले बताए ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले समस्त दर्शक, विज्ञापनदाता, शेयर सदस्यहरु र कर्मचारीप्रति शुभकामना व्यक्त गरे । लोकतन्त्रमा सञ्चार माध्यमले सत्यतथ्य सूचना प्रवाह निर्वाध रुपमा गर्न पाउनुपर्ने बताउँदै उनले पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा टेलिभिजनले सम्पादकीय स्वतन्त्रतालाई कहिले मर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
कतिपय सञ्चार माध्यमहरु पनि सामाजिक सञ्जालजस्तै भएको आरोप अहिले लाग्ने गरेको बताउँदै सूचना मात्र नभएर तथ्यमा टेकेर खोज पत्रकारितामा टेलिभिजन अग्रसर हुनेमा उनले जोड दिए ।
विश्व हिन्दु महासंघ रूपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले बुद्ध सामुदायिक टेलिभिजनले समुदायको आवाज बुलन्द गर्दै आएकोले लुम्बिनी प्रदेशमा लोकप्रिय बनेको बताए ।
टेलिभिजनका सञ्चालक समिति सदस्य रामबहादुर थापाले टेलिभिजनले समुदायका मुद्दालाई नै प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिए । सल्लाहकार रीता सेन ओलीले सामाजिक सञ्जाल अहिले मिडिया हाउसका मुख्य चुनौती रहेको बताउँदै टेलिभिजनले खोज पत्रकारितामा जोड दिनुपर्ने बताइन् ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सामाजिक संजालमा आउने नकारात्मक सूचनाका बाढीले गर्दा मिडिया र राजनीतिक दल प्रभावित भएको बताए । मिडिया हाउसले सामाजिक सञ्जालमा आउने नकारात्मक बाढीलाई चिर्दै जानुपर्नेमा उनले जोड दिए ।
टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीले टेलिभिजनले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको र सम्पूर्णको साथ आवश्यकता रहेकोमा जोड दिए ।
टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले वार्षिकोत्सवको अवसरमा यही भदौ २२ गते सरसफाई, २५ गते गौ संरक्षण बहस, २६ गते स्थानीय तहमा सुशासनको लागि मिडियाको भूमिका अन्तक्रिया र २७ गते हरितालिका तिजको अवसरमा समापन तथा तीज विशेष कार्यक्रमको आयोजना गरिने बताए ।
टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीले वार्षिकोत्सव समारोह समापनको दिन विभिन्न कलाकारहरुद्धारा लाईभ तीज विशेष कार्यक्रमको आयोजना गरिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij