२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

समाजवादी विद्यार्थी युनियन रुपन्देहीद्वारा सिद्धार्थ बालगृहमा शैक्षिक सामग्री वितरण

बुधवार , भाद्र २०, २०८०

भैरहवा, २० भदौ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी विद्यार्थी युनियन नेपाल, रुपन्देहीले बालगृहमा शैक्षिक सामग्री, फलफूल, बिस्कुटलगायत सामग्री वितरण गरेको छ । युनियनले बुधबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रहेका बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बालगृहलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य शैक्षिक सामग्रीसहित अन्य सामग्री वितरण गरिएको युनियन रुपन्देहीका अध्यक्ष विरेन्द्र कुमार यादवले बताए ।

कार्यक्रममा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य महेन्द्र यादवले समाजवादी विद्यार्थी युनियनले बालगृहमा कार्यक्रम गर्नु सराहनीय रहेको बताए । उनले विद्यार्थी युनियनले विद्यार्थीहरुको हौसला बढाउने काम गरेको बताए । केन्द्रीय सदस्य यादवले शिक्षा बिना देशको विकास असम्भव रहेको बताए । उनले भने, ‘सिद्धार्थ बाल गृहलाई सक्दो सहयोग गर्छौं ।’

त्यस्तै समाजवादी विद्यार्थी युनियन, नेपाल लुम्बिनी प्रदेशका इञ्चार्ज राहुल यादवले विद्यार्थी युनियनले समाजमा केही गर्ने अठोट लिएको बताए । उनले आगामी दिनमा पनि युनियनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । 

जसपा युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलम, पार्टीका सिद्धार्थनगर उपाध्यक्ष मनोज प्रजापति, नारायण यादवलगायतले बोल्दै समाजवादी विद्यार्थी युनियनले राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

समाजवादी विद्यार्थी युनियन नेपाल, रुपन्देहीका अध्यक्ष विरेन्द्र कुमार यादवको अध्यक्षता, जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवको प्रमुख आतिथ्यता, समाजवादी विद्यार्थी युनियन रुपन्देहीका उपाध्यक्ष अनिसुर रहमानको स्वागत तथा जिल्ला सचिव कौशलेन्द्र कुमार मिश्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम

त्यस्तै श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाना खुवाउने कार्यक्रम भएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगरका सचिव अनिल यादवको अगुवाइ तथा नगर उपाध्यक्ष मनोज प्रजापतिको नेतृत्वमा उक्त कार्यक्रम भएको हो । वृद्धाश्रममा रहेको वृद्धवृद्धालाई बुधबार बिहान खाना खुवाइएको जसपा सिद्धार्थनगरका उपाध्यक्ष मनोज प्रजापतिले बताए ।

375302526_3652348131653339_1659290586470936872_n.jpg

कार्यक्रममा जसपा रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलम, समाजवादी विद्यार्थी युनियन लुम्बिनी प्रदेश इञ्चार्ज राहुल यादव, जिल्ला अध्यक्ष विरेन्द्र यादव, सचिव कौशलेन्द्र कुमार मिश्रालगायतको उपस्थिति रहेको थियो ।