२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

निर्माण व्यवस्थापन र ई–जीपी प्रणालीसम्बन्धी तीनदिने तालिम सम्पन्न

बुधवार , भाद्र २०, २०८०

भैरहवा, २० भदौ ।
नेपाल निर्माण व्यवसायी महासंघको आयोजना, लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको व्यवस्थापन तथा कन्सट्रक्शन बिजनेश डेभलपमेन्ट इम्पलीमेन्टशन कमिटीको सहयोगमा निर्माण व्यवस्थापन र ई–जीपी प्रणाली (फेज–२) सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । 

भदौ १७ देखि १९ गतेसम्म भैरहवामा सञ्चालित तालिममा रुपन्देही, कपिलवस्तु र नवलपरासीको निर्माण व्यवसायी र प्रतिनिधि गरी ६० जनाको सहभागीता रहेको लुम्बिनी निर्माण व्यवसायी संघका कोषाध्यक्ष प्रितम रौनियारले बताए । तालिमको प्रशिक्षक केशव आचार्यले सहजीकरण गर्नुभएको रौनियारले जानकारी दिए ।

मंगलबार तालिमको समापन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीले तीनदिनसम्म उत्सुकतापूर्वक तालिममा सहभागी भएको भन्दै निर्माण व्यवसायीहरुलाई धन्यवाद दिए । उनले यो सिकाईले निश्चय नै व्यवसायमा टेवा पुर्याउने विश्वास गरे । उनले भने, ‘धेरै कुरा सिक्न जरुरी छ । तालिमलाई फलदायी बनाउन सिकेका कुरा व्यवहारमा लागू गर्नुहोला । ’ आगामी दिनमा पनि तालिमहरु आयोजना गरिने उनको भनाइ छ । व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा उपाध्यक्ष रायमाझीले जोड दिए ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले प्रदेश समितिले पनि तालिम आयोजना गर्न बताए । उनले तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले ठोस रुपमा काम गर्ने विषय ठूलो भएको बताए । 

लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष दिपक शाहीले गम्भिरतापूर्वक व्यवसाय सञ्चालन गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरे । उनले राज्यका एक निकायले अर्को निकायलाई देखाउँदा निर्माण व्यवसायी मर्कामा परेको गुनासो गरे ।

संघका पूर्व अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले आफ्नो व्यवसायप्रति गम्भिर भएर तालिम लिएका निर्माण व्यवसायीलाई फाइदा पुग्ने बताए । 

लुम्बिनी निर्माण व्यवसायी संघ बुटवल शाखाका पूर्वअध्यक्ष जविन कक्षपतिले नेतृत्वसीप क्षमताको विकास गर्नुपर्ने बताए । उनले ठेक्कामा अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने बताए ।

सहभागीहरुको तर्फबाट बोल्दै राजेन्द्र थापा, मसहुर आलम र आयुस कक्षपतिले तालिममा धेरै कुरा सिक्न पाइएको र तालिम प्रभावकारी भएको बताए ।

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिपक शाहीको अध्यक्षता, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाको विशिष्ट आतिथ्यता तथा लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव प्रयास खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

IMG_7210.JPG

सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेल, २ का अध्यक्ष छेदीलाल श्रीवास्तव, ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे र १२ का वडा सदस्य इसान भण्डारीलाई सम्मान गरिएको लुम्बिनी निर्माण व्यवसायी संघका कोषाध्यक्ष प्रितम रौनियारले बताए ।

IMG_7215.JPG