२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना बनाउन सामूहिक पहल गरौं : अध्यक्ष श्रेष्ठ

सोमवार , भाद्र १८, २०८०

बुटवल, १८ भदौ । 
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सबैको सामूहिक पहलबाट अस्पतालको विकास तथा स्तरोन्नति सम्भव भएको बताएका छन् । सामुहिक पहलले मात्रै अस्पताल नमूनाको रुपमा विकास हुन सक्ने उनले बताए ।

अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गए पनि सीमित जनशक्ति र स्रोतसाधनले सेवा प्रदान गर्न कठिनाई भइरहेको उनले उल्लेख गरे । सेवाग्राहीको चापसँगै १५ सय बढी जनशक्ति आवश्यक पर्ने अस्पतालमा ७ सय कर्मचारीले सेवा दिनुपर्दा समस्या भइरहेको उनको भनाइ छ ।

अस्पतालको कर्मचारी युनियनका नयाँ निर्वाचित पदाधिकारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले कर्मचारीहरुको समस्या समाधानका लागि अस्पताल प्रशासन गम्भिर रहेको उल्लेख गरे । प्रदेश सरकारले प्रयाप्त बजेट व्यवस्था नगर्दा कर्मचारीको व्यवस्थापन, उनीहरुको सेवासुविधा तथा सेवाग्राहीलाई स्तरीय सेवा प्रदान गर्न कठिनाइ भएको उनले गुनासो गरे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष तिलक गौतमले अस्पताका सबै काममा कर्मचारी युनियनको साथ सहयोग रहेको र निरन्तरता रहने बताए । उनले विकास समितिका कर्मचारीहरुको लामो समयदेखि विभिन्न समस्या रहेको र त्यसलाई समाधान गर्न अध्यक्षसँग आग्रह गरे ।

कर्मचारी युनियनका सचिव दिपेन्द्र पौडेलले अस्पतालको ईर्मेजेन्सी गाईने ओपीडी ईएचएसमा उपचारमा समस्या रहेकोले विकास समितिले त्यसलाई समाधान गर्न लाग्नुपर्ने बताए । त्यस्तै सह–सचिव ईन्द्र राईले कर्मचारीको संचयकोष, दरबन्दी वृद्धि लगायतका कुरामा ध्यान दिन विकास समितिलाई आग्रह गरे । स्वागत कार्यक्रममा उपाध्यक्ष कमल लामिछाने, भगवती पाण्डे लगायतले बोल्दै अस्पतालको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए ।