२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

सरकारको नेतृत्व गरिरहेका मानिसहरु नै भ्रष्टाचारीलाई चोख्याउन सक्रिय छन् : राजेन्द्र लिङ्देन

शनिवार , भाद्र १६, २०८०

भैरहवा, १६ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नेतृत्व गरिरहेका मानिसहरु नै भ्रष्टाचारीलाई चोख्याउने र आफ्ना मानिसहरुलाई जोगाउने काममा सक्रिय रहेको आरोप लगाएका छन् । उनले केही मानिसहरु जोगाउने स्थिति नभएपछि बल्ल पक्राउ परेको बताए ।

राप्रपा कपिलवस्तुले शनिबार तौलिहवामा आयोजना गरेको नविन राप्रपा अन्तरक्रिया कार्यक्रम तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सत्ता जोगाउन भ्रष्टाचारलाई संरक्षण गर्ने र आफ्ना मान्छे जोगाउने खेलमा सरकार लागेको बताए । उनले भने, ‘अहिले पनि भ्रष्टाचारको छानबीन पूर्ण रुपमा भएको छैन । भ्रष्टाचार काण्डमा ठूलै दलका नेताहरुको संलग्नता छ । ’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता लिङ्देनले देश ठूला राजनीतिक दलको सिण्डिकेटको सिकार भएको बताए । उनले कांग्रेस र कम्युनिष्ट देख्दा नामले अलग भए पनि एउटै पार्टी भएको दावी गरे । उनले भने, ‘राप्रपा पार्टी मात्रै होइन । देश र धर्म जोगाउने र देशभित्रै रोजगारी सिर्जना गर्ने एउटा अभियान र आन्दोलन पनि हो । उनले राप्रपामा लाग्ने जोकोही पनि जीवनको कुनै पनि क्षण पश्चाताप गर्नु नपर्ने दावी गरे ।’

अध्यक्ष लिङ्देनले अब पनि नेपाली जनताले टुलुटुलु हेर्ने र मत परिवर्तन नगर्ने हो भने देश अझ संकटमा पर्ने बताए ।

विदेशीको चाहनामा मुलुकमा धर्मनिरपेक्षता लादिएको भन्दै फेरी सबै मिलेर नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापना गर्नुपर्ने उनको भनाइ छ । मुलुकमा अभिभावकीय संस्थाको रुपमा राजतन्त्र स्थापना गर्नुपर्ने उनले जिकिर गरे । मुलुकमा देखिएको केही हिंसात्मक गतिविधि धर्मनिरपेक्षताको दुष्परिणाम भएको उनले बताए ।

त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले मुलुकमा धेरैपटक सरकार परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्न र धर्म संस्कृतिको संरक्षण राप्रपाबाहेक अन्य पार्टीले गर्न नसक्ने दावी गरे ।

राप्रपाका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ९७ प्रतिशतले हिन्दू राष्ट्र स्थापना हुनुपर्ने माग गरिरहेको बताए । उनले हरेक दिन नेपाली युवा विदेशिएको र यो संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले विदेशीको प्रभाव र दबाबमा मुलुकमा रातारात धर्मनिरपेक्षता कायम गरिएको बताए । उनले अभिभावकको रुपमा राजा चाहिन्छ भन्ने जनताको माग बढ्दै गएको दावी गरे । राप्रपाका सहायक महामन्त्री ताहिर अलीले मुलुकमा हिन्दू राष्ट्र स्थापना अपरिहार्य रहेको बताए ।

राप्रपा कपिलवस्तुका अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए ।