२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

बुटवलका तत्कालिन प्रहरी प्रमुख डीएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार , भाद्र १४, २०८०

रुपन्देही, १४ भदौ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर के.सी.विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका तत्कालिन कार्यालय प्रमुखसमेत रहेका डीएसपी के.सी.विरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । आयोगका अनुसार डीएसपी केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिइ फिर्ता गर्नको लागि रकम माग गरेका थिए । साथै उनको निवासबाट नगदसहित सुन बरामद भएको थियो ।

अनुसन्धानको क्रममा उनले २०७९ मंसिर २५ गते ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिई गई १५ दिनसम्म आफू कार्यरत कार्यालयका राखेको खुलेको थियो ।

आयोगका प्रवक्ता दाहालका अनुसार के.सी.ले अन्य जिम्मेवार कर्मचारीलाई पनि कुनै जानकारी गराएका थिएनन् । १५ दिनसम्म आफैसँग गोप्य राखी सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुसको मोलमोलाई गरी ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजारको चेक लिएर अन्य व्यक्तिमार्फत सुन फिर्ता दिन लगाएको पुष्टि भएको थियो । उनीविरुद्ध कैद र बिगो बमोजिम जरिवानाको मागदावी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।