२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको भवन शिलान्यास

बिहिवार , भाद्र १४, २०८०

काठमाडौं, १४ भदौ । 
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्यास गरेका छन् । 

कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य शुरूवातको लागि भूमिपूजन समेत गरे ।

राजदूत तइयोङले वर्तमान समयमा बढ्दै गएको साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साईबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आम नागरिकलाई साईबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा साईबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उले बताए ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतिको रूमपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताए ।

सीमित साधस्रोत एवं पूर्वाधारका बाबजुद साइबर व्यूरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा साईबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणको लागि साईबर व्यूरोको संरचना सुदृढीकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरूरी भएको बताए ।

महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुको रूपमा रहने विश्वास व्यक्त गरे ।