२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

निष्ठा बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः बस्नेत

आइतवार , भाद्र १०, २०८०

बुटवल, १० भदौ । 
निष्ठा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सियारी–५ दुर्गापुर, रुपन्देहीको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको वडा नम्बर ४, ५, ६, ७ र शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्यक्षेत्र बनाएको सहकारीको निर्वाचनले पुनः लाल बहादुर बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा हरिप्रसाद पोखरेल, सचिवमा मोतिलाल अर्याल, कोषाध्यक्षमा प्रेम सागर अधिकारी चयन भएको निर्वाचन संयोजक इन्द्र तिवारीले जानकारी दिए । त्यस्तै सञ्चालक सदस्यमा मनबहादुर पौडेल, चन्द्रकान्त शर्मा, ज्ञानुकुमारी खड्का, सितादेवी देवकोटा र कृष्णकुमारी पोखरेल भट्टराई चयन भएको संयोजक तिवारीले बताए । त्यसै गरी लेखा समिति संयोजकमा लोक शर्मा बस्याल चयन भएका छन् भने सदस्यमा राधादेवी भुसाल र जालपा घर्ती भुसाल चयन भएका छन् ।

वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कतिपय सहकारी भागेको अवस्था रहे पनि निष्ठा बचत तथा ऋण सहकारी संस्थाले हरेक काम स्वच्छ रुपमा काम गर्दा अझ बढी राम्रो गर्दै गइरहेको बताए । उनले आफ्नो गाउँ छिमेकी र समाजका सदस्यबाट सञ्चालित सहकारीबाट धोका नहुने बताए । सियारी गाउँपालिकाले पालिकाभित्रका सहकारीको निरीक्षण गरिरहेको उनले बताए । 

त्यस्तै सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले शेयर सदस्यको रकम जोगाएर सही ठाउँमा लगानी गर्न आग्रह गरिन् । उनले  सहकारीमा धेरै महिला शेयर सदस्य रहेको भन्दै खुशी व्यक्त गरिन् ।

सहकारीका अध्यक्ष लालबहादुर बस्नेतले आफ्नो ४ वर्षे कार्यकालमा २ वर्षसम्म कोरोना महामारी र त्यसपछि आर्थिक मन्दीले आर्थिक कठिनाइ अवस्थामा हुँदा पनि शेयर सदस्यको संस्थाप्रतिको विश्वास र सहयोग रहेकोले सबल संस्थाको रुपमा अघि बढाउन सफल भएको बताए । उनले आगामी दिनमा पनि सहकारीले शेयर सदस्यको मन जितेर काम गर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक सन्दिप सापकोटाले शेयर सदस्यहरुको बचत रकम सही ठाउँमा लगानी गरे सहकारीमा कुनै समस्या नआउने बताए । 

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले १४ वर्षको अवधिमा संस्थाको पुँजी १६ करोड पुग्नु राम्रो भए पनि अझै वृद्धि गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।

रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष वसन्त ढकालले बोल्दै स्थानीय रुपमा सञ्चालन भएका सहकारीले राम्रो काम गरेकाले यस्ता सहकारीमा रकम बचत गर्दा बचतकर्ताको रकम सुरक्षित हुने बताए । २०६६ सालमा २८ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ४९० जना महिला र ३५५ जना पुरुष गरी ८४५ शेयर सदस्य छन् ।

आर्थिक वर्ष २०७९/८० सम्म संस्थाको शेयर पुँजी  १ करोड ८५ लाख ८३ हजार, बचत ११ करोड ६५ लाख ८८ हजार ८८०, लगानीमा रहेको ऋण १४ करोड ४१ लाख ५३ हजार ७२७, जगेडा कोष १ करोड ९ लाख ३७ हजार ५११, अन्य कोष ९६ लाख ८ हजार २४८ र कुल पुँजी १६ करोड २९ लाख ७ हजार ६०१ रहेको छ  ।

सहकारीले आर्थिक वर्ष २०७९÷८० मा ७४ लाख २४ हजार ८९९ मुनाफा गरेको जनाएको छ । सहकारीका प्रबन्धक प्रेमबहादुर गोदारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।