
आइतवार , भाद्र १०, २०८०
बुटवल, १० भदौ ।
मानिसको लापरवाहीकै कारण सवारी दुर्घटना बढेको र वर्षेनी धनजनको क्षति हुने गरेको सरोकारवाला निकायका प्रतिनिधिहरुले दावी गरेका छन् । पछिल्लो समय सवारी दुर्घटना बढ्नुका साथै ठुलो परिमाणमा धनजनको क्षति भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.द्वारा आयोजित सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन विषयक चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागीहरुले सवारी दुर्घटनाबाट कयौंले ज्यान गुमाएका छन् भने कयौं गम्भिर घाइते भइ उपचारकै क्रममा रहेको बताए । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अनुसार सडक दुर्घटनामा सवारीसाधनतर्फ पनि करोडौं रकम बराबरको क्षति पनि भएको छ ।
कार्यक्रममा चालकको लापरवाही, यात्रुको लापरवाही र सडकको दुरावस्था नै सवारी दुर्घटना र धनजनको क्षतिको मुख्य कारण रहेको ट्राफिक प्रहरी, यातायात व्यवसायी, मजदूरहरुका नेता र पत्रकारहरुले जिकिर गरेका छन् ।
प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका वरिष्ठ सहायक निरीक्षक नारद कार्कीले मानवीय लापरवाही, सवारीमा यान्त्रिक गडबडी, जीर्ण सडक र प्राकृतिक प्रकोपका कारण दुर्घटना र धनजनको क्षति हुने गरेको बताए । मानिसको जीवन बचाउनु नै महत्वपुर्ण कुरा भएकोले लापरवाही नगर्न र मानिसको जीवन के हो भनेर मनन् गर्न समेत कार्कीले आग्रह गरे ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का सञ्चालक तथा सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद घिमिरेले सवारीचालक तथा सह–चालकहरुले आफ्नो सीप कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रिय सदस्य कृष्ण कंडेलले यातायात मजदूरहरुले पेशाप्रति जिम्मेवार भएर काम गर्न आग्रह गर्दै अधिकारका लागि एकताबद्ध भएर अघि बढ्न पनि सुझाव दिए ।
नेपाल यातायात मजदूर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन समितिका सचिव जितेन्द्र खत्री, पत्रकार हरिश ढकाल, चालकहरु पृथ्वीनारायण श्रेष्ठ, राजु चौधरी लगायतले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमहरु पनि निरन्तर जारी राख्नुपर्ने आवश्यकता औंल्याए ।
करिब २ हजार ५ सय बसहरु सञ्चालनमा रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले प्रत्येक शुक्रबार चालक तथा सह–चालकहरुका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij