२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

हिन्दू परिषद नेपाल रुपन्देहीको अध्यक्षमा मोहित द्विवेदी

शनिवार , भाद्र ९, २०८०

भैरहवा, ९ भदौ ।
हिन्दू परिषद नेपाल, रुपन्देहीको जिल्ला कार्यसमिति गठन कार्यक्रम एवं हिन्दू एकता अभियान शनिबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा भएको कार्यक्रममा मोहित कुमार द्विवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा केशव कुमार गुप्ता, सचिवमा राम जियावन यादव, सह–सचिवमा सन्तोष कुमार पाण्डे र कोषाध्यक्षमा सुर्यनाथ धवल रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा दिनेश गुप्ता, राकेश कुर्मी, रामभवन मौर्या,  जितेन्द्र यादव, दिपेन्द्र चौधरी, सन्दिप कुमार अग्रहरी, विश्वनाथ प्रजापति, रामखुशियाल यादव, श्यामसुन्दर यादव, केशव कुर्मी, राहुल यादव, विनय यादव, अखिल गुप्ता, राहुल कुर्मी र गणेश यादव रहेका छन् ।

त्यसै गरी प्रवक्तामा ज्ञानेश्वर उपाध्याय, सल्लाहकारमा बैजनाथ गुप्ता (बी.एन.), उर्मिला यादव, उमेश अग्रहरी,  विजय उपाध्याय, नेवास कुर्मी र मुक्तिनाथ यादव (भोला) रहेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले हिन्दू धर्मको संरक्षणका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने कार्य भएकाले त्यसका विरुद्ध आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै युवा समाजसेवी बैजनाथ गुप्ता (बी.एन.) ले जातीय छुवाछुत र भेदभावको अन्त्य गर्नुपर्ने बताए । उनले नेपालको राष्ट्रिय जनावर गाई भएकाले गाईको मासु खानु अपराध भएकाले दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले हिन्दू धर्म संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

हिन्दू परिषद नेपालका केन्द्रीय प्रवक्ता ओमकार पाण्डेले हिन्दू धर्म संरक्षण गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियान लाग्न आग्रह गरे । हिन्दू एकता अभियान सुरु भएकाले यसमा जुट्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै समाजसेवी तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले धरानमा गोरु काटेर मासु खाने घटनामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने बताए । उनले खुलेयाम गाई÷गोरु काट्न मुलुकमा धर्मनिरपेक्षता नआएको बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले संगठन नै शक्ति भएको बताए । उनले हिन्दू धर्मको संरक्षणमा लाग्नुपर्ने भन्दै सुरुवात आफैबाट गर्नुपर्ने बताए ।

समाजसेवी रेनु बर्नवालको अध्यक्षता तथा बैजनाथ गुप्ता (बी.एन.) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।