२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

‘अदालतबाट हुने फैसलाहरुको छलफल कानून व्यवसायीहरुले पनि गर्नुपर्छ’

शनिवार , भाद्र ९, २०८०

भैरहवा, ९ भदौ ।
रुपन्देही जिल्ला अदालत वार एशोसिएसनको ५४ औं बार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै तुल्सीपुर उच्च अदालत बुटवल इजलाशका न्यायाधिश नित्यानन्द पाण्डेले न्याय सम्पादनका लागि अदालत र कानून व्यवसायीहरु एक–अर्काका पुरक भएकाले सहयोगी हुनुपर्नेमा जोड दिए ।

अदालत र कानून व्यवसायी दुवैको साझा लक्ष्य जनतालाई न्यायको प्रत्याभूति दिने भएकाले त्यसका लागि उच्चस्तरको समझदारीको खाँचो औल्याउँदै न्यायाधिश पाण्डेले अदालतबाट हुने फैसलाहरुको छलफल कानून व्यवसायीहरुले पनि गर्नुपर्ने बताए ।

अहिले आफुले बहस गरेको मुद्धामा हार्नेबित्तिकै निष्पक्षता नदेख्ने र सामाजिक संजालहरुमा टिप्पणी गरिहाल्ने प्रवृत्ति देखिएको छ– न्यायाधिश पाण्डेले भने, ‘न्यायालयबाट हुने फैसला बुझ्ने भनेकै कानून व्यवसायीले हो, कानून व्यवसायी साथीहरुले सामाजिक सञ्जालहरुमा टिप्पणी गर्ने होइन, आन्तरिक फोरमहरुमा छलफल गरौं, राय सुझाव दिऔं । ’

‘कुनै मुद्धामा न्यायाधिशबाट विवेक प्रयोग भएको रहेनछ भने छलफल गरौं, गलत भएको भए सुधार गर्न सक्ने ठाउँ हुन्छ, ’न्यायाधिश पाण्डेले भने ।

रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधिश कृष्णराम कोइरालाले न्यायाधिश र कानून व्यवसायी दुवैतिर सुधारको खाँचो औल्याए । उनले निष्पक्ष न्याय सम्पादनका लागि वार र वेन्च एक अर्काका सहयोगी हुनुपर्नेमा जोड दिए ।

वार ईकाईका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता गिरिराजविक्रम खड्काले कानूनको श्रोत संस्कृति, परम्परा र रीतिरिवाज भए पनि त्यसको मर्म नाघिएका कारण समाज खण्डिकृत हुँदै गएको बताए ।

पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालप्रसाद पाण्डे अल्छीले नेपालको न्याय प्रणाली राजा महेन्द्रकै ससुरालाई हराइदिएको इतिहासबाट अघि बढेको भन्दै न्यायाधिशहरु सत्ता र शक्तिबाट प्रभावित हुन नहुने बताए ।

पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले न्यायालयमाथि अविश्वास बढ्न दिन नहुनेमा जोड दिए ।
वारका अध्यक्ष शिवहरि अधिकारीले फैसलालाई विश्वसनीय बनाउन न्यायाधिश र कानून व्यवसायी सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रममा न्यायाधिश उमेश कोइराला, नेपाल कानून व्यवसायी परिषदका केन्द्रीय सदस्य बाबुराम पाण्डे, उच्च अदालत बार ईकाई बुटवलका अध्यक्ष कैलाश ज्ञवाली, पूर्वअध्यक्ष जगत बहादुर रायमाझी, उपाध्यक्ष विष्णु प्रसाद भुसाल, सचिव चोलाबहादुर कार्कीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।