२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

लिडरले कहिल्यै सबै जानेको छु भन्ने सोच्नु हुँदैन : सांसद् झा

शनिवार , भाद्र ९, २०८०

भैरहवा, ९ भदौ ।
प्रतिनिधि सभा सदस्य (सांसद्) मनिष झाले राजनीतिमा आफ्नो गुरु गगन थापा र आफ्नो लिडर भने रवि लामिछाने भएको बताएका छन् । भैरहवामा आयोजित लिडरसीप स्किलस डेभलपमेन्ट तालिमको ८३ औं श्रृंखलामा अतिथि वक्ताका रुपमा प्रशिक्षण दिन आएका सांसद् झाले भने, ‘लिडर बन्ने हो भने अरुलाई नेता भनेर वा मानेर बसिरहने होइन लिडर बनेर अगाडि आउनुहोस्, मैले त्यही गरेको हुँ ।’  

लिडरले आफूलाई व्यक्ति होइन एउटा संस्था हुँ भनेर मान्नुपर्छ भन्दै लिडरका बहुआयामिक विशेषताका बारेमा झाले बताए । उनले लिडरले कहिल्यै सबै जानेको छु भन्ने सोच्न नहुने भन्दै सधै पढ्न सिक्न र तालिम लिनका निम्ति पनि सुझाव दिए ।

सामाजिक संजालका कारण मानिसमा हार्दिकता र कृतज्ञतामा कमी आएकोमा उनले चिन्ता व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता झाले लिडरशिप स्किल्स डेभलपमेन्ट तालिमका निम्ति स्वेच्छिक आर्थिक योगदान समेत पनि गरेका थिए ।

यो आर्थिक योगदानको कुनै मूल्य मापन हुँदैन, हामीलाई प्रोत्साहन र उहाँले तालिमलाई दिएको अपनत्व भएको तालिमका मुख्य प्रस्तोता विजय पाण्डेले बताए । पाण्डे यो तालिमको संस्थापक हुन् । लुम्बिनी प्रेस क्लबका आजीवन सदस्य समेत रहेका पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित छन्  ।

तालिमका प्रमुख अतिथि उद्योगी तथा समाजसेवी अरुण गोयनकाले यो तालिमले लिडरलाई असल चरित्र निर्माण गर्न सहयोग गरेको बताए । गोयनका तालिम परिवारका सदस्य पनि हुन् । सुरुवाती चरणमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमितिलाई तालिम प्रदान गर्ने उद्देश्य रहे पनि आज हरेक पेशाका व्यक्तिहरु तालिममा जोडिनु सुखद रहेको गोयनकाले बताए ।

तालिमका सदस्यहरुलाई हरेक हप्ता विभिन्न भूमिका दिएर क्षमताको विकास गरिन्छ । यसले सवै सहभागीहरुले फरकफरक जिम्मेवारी निर्वाह गर्ने अवसर पाउनाले पनि यसको आकर्षण बढेको व्यवस्थापन समितिका सदस्य त्रिलोकी तेलीले जानकारी दिए । कार्यक्रमका संयोजक  वडा सदस्य सविता हरिजनले स्वागत मन्तव्य राखेकी थिइन् भने ८३ औ श्रृंखलाका अध्यक्ष खाद्यान्न व्यवसायी राम प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

यस श्रृंखलाको प्रायोजन गोयनका फूड्सका सञ्चालक मनोज गोयनकाले गरेका थिए । होटल पौवामा सञ्चालित तालिममा करिब १ सय जनाको उपस्थिति रहेको थियो । तालिममा प्रशिक्षार्थीहरुले अतिथि वक्ता सांसद मनिष झासँग विभिन्न जिज्ञासासमेत राखेको कार्यक्रमका संचालक रंजन पन्थीले जानकारी दिए ।