२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

तिलोत्तमामा जारी जेसीज क्षेत्र ‘घ’ सम्मेलनमा विवाद, असन्तुष्ट पक्षद्वारा नाराबाजी

शुक्रवार , भाद्र ८, २०८०

तिलोत्तमा, ८ भदौ । 
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन मा विवाद उत्पन्न भएको छ । क्षेत्र ‘घ’ अन्तरगत जेसीआई सिद्धार्थ लेडी, नेपाल र धनगढी लेडी जेसीजमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै विरोध भएको छ । विरोधकाबीच जारी सम्मेलनमा पटकपटक स्थगित र सुचारू भएको छ । सम्मेलनमा असन्तुष्ट पक्षले नाराबाजी गरेका थिए । 

जेसीआई सिद्धार्थ लेडीमा समस्या समाधान नगरी आफूहरुलाई प्रतिनिधित्व गर्न नदिएको भन्दै असन्तुष्ट पक्षले शुक्रबार विरोध गरेका छन् । नेतृत्वले विवाद समाधान गर्नुको साटो आधिकारिक समूहबाट रजिष्ट्रेशन शुल्क उठाएर पनि सहभागी हुन नदिएको जेसीआई सिद्धार्थ लेडी, नेपालकी पूर्वअध्यक्ष रचना क्षेत्रीले बताइन् । उनले एकपक्षीय रुपमा आधकारिक समूहलाई बाइपास गरिएकाले विरोध गर्नुपरेको बताइन् । जेसीआई सिद्धार्थ, लेडीमा २०२० देखि विवाद कायम छ ।

त्यसै गरी धनगढी लेडी जेसीजमा पनि ३ वर्षदेखिको विवाद समाधान नगरी एकपक्षीय रुपमा प्रतिनिधित्व गराएको भन्दै विरोध भएको छ । आधिकारिक समूहलाई बाइपास गरेर एकपक्षीय रुपमा प्रतिनिधित्व गराइएको भनी विरोध भएको छ  । 

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले आफू महासचिव हुँदा मान्यता दिएको समितिलाई अहिले आएर मान्यता नदिनु गलत भएको धनगढी लेडी जेसीजकी एक सदस्यलाई बताइन् ।

विवादका विषयमा जानकारी लिन खोज्दा नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले प्रतिक्रिया जनाउन चाहेनन् । प्रतिक्रियाका लागि कार्यक्रम स्थलमै गएर भेट्न खोज्दा पनि मोबाइल अफ गरेर उनी सम्पर्कमा आउन चाहेनन् ।

तिलोत्तमा जेसीजको आतिथ्यतामा शुक्रबारदेखि मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा जारी सम्मेलनमा देशभरबाट करिब १ हजार बढी प्रतिनिधि सहभागी भएका छन् । २ दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र ‘घ’ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिब ५ सय प्रतिनीधि तथा पर्यवेच्छेक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहेको छ ।