
सोमवार , भाद्र ४, २०८०
भैरहवा, ४ भदौ ।
जलवायू अनुकुलन र विपत प्रतिकार्यका क्षेत्रमा काम गरिरहेको सामुदायिक उत्थानशील कार्यक्रम–३ को परियोजना समीक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र, नेपाल (सीडीएम) ले आइतबार भैरहवामा आयोजना गरेको समीक्षा तथा समन्वय बैठकमा परियोजनाले अहिलेसम्म गरेका काम र आगामी योजनाबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाका पदाधिकारीसँगैं जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सरोकारवाला संस्थाका प्रतिनिधि सहभागी थिए ।
सीडीएम नेपालका कार्यकारी निर्देशक धर्मराज घिमिरेकाअनुसार यो परियोजना अहिले रुपन्देहीको कोटहीमाई, गैडहवा, सम्मरीमाई, सियारी र लुम्बिनी साँस्कृतिक तथा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालनमा रहेको छ ।
संस्थाले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई जलवायू परिवर्तन सम्बन्धि तालिम प्रदान गर्दै आएको छ । स्थानीयस्तरमा जलावायू परिवर्तनबारे जानकारी राख्ने स्रोत व्यक्ति तयार गर्न कर्मचारी, शिक्षक र सरोकारवालालाई तालिम प्रदान गरिरहेको घिमिरेले बताए । घिमिरेकाअनुसार २०५७ सालमा रुपन्देहीमा दर्ता भएको संस्थाले जलवायू अनुकुलन, जलवायू स्वच्छता, विपद प्रतिकार्य र राहतका क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
संस्थाका वरिष्ठ सल्लाहाकार तथा जलवायू विज्ञ विष्णु प्रसाद खरेलले रुपन्देही र पश्चिम नवलपरासीका गरेर ६ वटा पालिकामा कार्यक्रम लागू भइरहेको जानकारी दिए । उनकाअनुसार परियोजनाले महिला, युवा र विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘संस्थाले मात्र लगानी गरेको छैन,’उनले भने, ‘स्थानीय पालिकाले समेत लगानीमा साझेदारी गरेका छन् ।’ आगामी एक वर्षका लागि परियोजनाले ६ करोड १४ लाख र पालिकाका तर्फबाट २ करोड ४० लाख रुपैयाँ खर्च गरिने उनले बताए । उक्त अवधिमा जलवायू अनुकुलन, विपत जोखिम न्यूनिकरण र हरित रोगजार÷उद्यममा आधारित भएर कार्यक्रम गरिने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापागाइँले पालिकासँगको साझेदारीमा परियोजना सञ्चालन भएकाले कार्यक्रमको प्रभावकारिता धेरै पाइएको बताए । जलवायू अनुकुलन अहिलेको आवश्यकता भएकाले धेरै सरोकारवालालाई समेटेर कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रमका अतिथि गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्याल, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलगायतले पालिकामा कर्मचारी र जनप्रतिनिधिसँगको सहकार्यमा काम भइरहेकाले निगरानी र अनुगमनमा सहज भएको बताए । पत्रकार सन्जु पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij