
आइतवार , भाद्र ३, २०८०
रूपन्देही, ३ भदौ ।
नेकपा (एमाले) संसदीय दलका सचेतक महेश बर्तौलाले अहिलेको सरकार नेपाली नागरिकको अभिभावक बन्नै नसकेको र सदनलाई पनि त्यही तरिकाले छायाँमा पारेको आरोप लगाएका छन् । उनले सरकारको बलमिच्याईका कारण संसद् रोकिएको आरोप लगाए ।
प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले एमालेका कारण सदन नरोकिएको दावी गरेका छन् । ‘प्रतिपक्षले उठाएको मागमा जबरजस्ती गर्न मिल्दैन, एमालेले माग उठाएको हो, संसद चलोस् भन्ने चाहन्छ, सदनमा उठेका मागमा जवाफदेही बन्नुपर्छ । गठबन्धन प्रतिपक्षसँग मुकाविला गर्न आएको छ, ’उनले भने ।
नेता बर्ताैलाले उनले प्रधानमन्त्री र गृहमन्त्रीले अरूलाई देखाउन, प्रोपोगाण्डा फैलाउन विभिन्न काण्डका फाइल खोल्ने धम्की दिँदै गठबन्धन टिकाउने रणनीतिक योजना बनाएको बताए । ‘सरकारको जिम्मेवार व्यक्तिले अब यो फाइल खोल्ने, अब यो फाइल बन्द गर्ने घोषणा गर्नु गठबन्धन टिकाउने धम्कीबाहेक केही होइन, नभए सरकारसँग जोडिएका पात्रको छानबिन नहुने सहमति त्यसैको उदाहरण हो, ’उनले भने ।
उनले संसद् ठीक ढंगबाट सञ्चालन नभएको, कानून निर्माण गर्ने संसदलाई सरकारले बिजनेस दिन नसकेको, विपक्षीको माग सम्बोधन नगरेको तर एमालेले सबै काण्डमा छानबिन गर्न बलियो उच्चस्तरीय समिति बनाउन नचाहेर सरकारमा रहेका व्यक्ति चोख्याउने योजना सरकारले बनाएको बताए ।
‘सुनकाण्डमा उच्चस्तरीय संयन्त्र नभए मन्त्रीको संलग्नता भए प्रहरीले कसरी छानबिन गर्न सक्छ, हामीलाई आशंका छ, सुन प्रकरणमा महरालाई र उनका छोरालाई किन अनुसन्धान गरिएन, शंकाको सूई यहीँबाट सुरू हुन्छ, ’उनले भने । सरकारको प्रभाव नहुने उच्चस्तरीय छानविन समिति एमालेको बटमलाइन भएको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij