
शनिवार , भाद्र २, २०८०
भैरहवा, २ भदौ ।
रुसको बौद्ध राज्य बुरियाटमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत भएको छ । रुसको बौद्ध राज्य बुरियाटको उलान उडेमा भन्ने ठाउँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्विनी विकास कोषका तर्फबाट सहभागी भएका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका हुन ।
उक्त अवसरमा सदस्य सचिव शाक्यले अहिलेसम्म लुम्बिनीमा भएका गतिविधि र कपिलवस्तुलाई प्राचीन शाक्य राजधानीको रुपमा विश्व सम्पदा सूची सूचीकृतका लागि भइरहेको बताए । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सदस्य सचिव शाक्यको प्रस्तुतिले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।
सम्मेलनमा लुम्बिनी विश्वविद्यालयका डीन माणिकरत्न शाक्य, भिक्षु निग्रोध र मुकुन्द विष्टले परम्परागत बुद्ध धर्म र चुनौतीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन् । अगष्ट १७ देखि १९ सम्म सञ्चालन भएको उक्त सम्मेलनमा रुसका विभिन्न राज्यहरुका प्रतिनिधिहरु, भारत, श्रीलंका, मंंगोलिया, म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनाम, चीन र नेपाल सहभागी रहेको छ ।
सोही अवसरमा बुरियात राज्यको गभर्नर (हेड अफ स्टेट) ए. एस. सेइडोनोभको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलसँग छुट्टै भेटघाट गरी लुम्बिनी र नेपाल रसियाको बौद्ध धर्मधर्ममार्फत सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरेका छन् । सो अवसरमा सदस्य सचिवबाट लुम्बिनीको तर्फबाट सिद्धार्थ गौतमको मूर्ति तथा लुम्बिनी चिनाउने किताब उपहार प्रदान गरे ।
त्यस्तै रुसको अर्को बौद्ध राज्य काल्मिकियाको गर्भनर बि.एस. खासीकोभसँग पनि छुट्टै भेटघाट भएको र भेटमा लुम्बिनी भ्रमणको निमन्त्रणा दिइएको सदस्य सचिव शाक्यले बताए । गभर्नर खासीकोभले आफू बौद्ध भएको र लुम्बिनीमा दर्शन गर्न आउने इच्छा प्रकट गर्दै अर्को सम्मेलन क्याल्मिकिया गर्ने बताए । बुरियाटको डास्टनमा रहेको पवित्र गुम्बाका प्रमुख खाम्बो लामासँग पनि भेटघाट तथा लुम्बिनीको चिनो हस्तान्तरण गरिएको छ ।
कार्यक्रमस्थलको नगरपालिका उलान उडेका मेयर इगर युरेरिच सुटेन्को नेपालको तर्फबाट प्रतिनिधि मण्डलमा सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन माणिक रत्न शाक्य, बौद्ध दर्शन तथा गुम्बा व्यवस्था समितिका अध्यक्ष जिगडोल लामा, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध,रुस निवासी एनआरएन दिनानाथ राजभण्डारी, ललितपुर महानगरपालिकाका मुकुन्द विष्ट रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij