
शनिवार , भाद्र २, २०८०
भैरहवा, २ भदौ ।
भास्करानन्द माया शर्मा अक्षयकोषले भैरहवामा छात्रवृत्ति वितरण गरेको छ । विभिन्न सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगर क्षेत्रमा रहेका विभिन्न सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्तिवापत नगद रकम प्रदान गरिएको संस्थाले जनाएको छ । उक्त अक्षयकोष शिक्षाविद् भास्करानन्द शर्मा (बी.एन.) शर्माले स्थापना गरेका हुन् । उनले संस्थामार्फत् विगत ७ वर्षदेखि उक्त छात्रवृत्ति वितरण गर्दै आएका छन् । छात्रवृत्ति गरिब तथा विपन्न परिवारका विद्यार्थी, जेहेन्दार र सामुदायिक विद्यालयमा उत्कृष्ट हुनेलाई प्रदान गरिँदै आएको छ ।
त्यस्तै सोही संस्थाले स्थापना गरेको भास्करानन्द माया शर्मा शिक्षा पत्रकारिता पुरस्कार–२०८० समता टेलिभिजनका सम्पादक नरेश केसीलाई प्रदान गरिएको छ । विगत एक दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका केसीलाई नगद रु. १० हजार र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गरिएको हो । केसी समता टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस) लगायत सञ्चार माध्यममा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्षसमेत हुन् ।
अक्षयकोषका संस्थापक शर्मा, संस्थाका पदाधिकारी एवं सदस्यहरुले पत्रकार केसीलाई पुरस्कार प्रदान गरेका हुन् । यसअघि उक्त पुरस्कार दीपेश पछाई, सम्झना शर्मा, अरुण ज्ञवाली, रबिन्द्र प्रताप गुप्ता र माधब न्यौपानेले पाइसकेका छन् ।
शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरुमध्येबाट लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सिफारिसमा उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिंदै आएको छ ।
कार्यक्रममा बोल्ने वक्ताले अक्षयकोषमार्फत् छात्रावृत्ति पाउँदा विद्यार्थीहरुलाई अध्ययनमा टेवा पुगेको जनाए । उनीहरुले शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने जनाउँदै अक्षयकोषले विद्यार्थीहरुलाई थप हौसला मिलेको उल्लेख गरे । अक्षयकोषका संस्थापक शर्माले विद्यार्थीलाई छात्रवृत्ति र पत्रकारलाई सम्मान गर्न पाउँदा हर्षित भएको सुनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij