
शनिवार , भाद्र २, २०८०
भैरहवा, २ भदौ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या चाँडै समाधान गर्ने बाटोमा अघि बढ्ने बताएका छन् । उनले अहिलेको स्रोतसाधनले भ्याएसम्म र ऐन कानूनले अफठ्यारो नपार्ने अवस्थामा चाँडै नै समाधान गर्ने बाटोमा अघि बढ्ने बताए ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले विमानस्थलबारे उचित तरिकाले टुंगो लगाउन नसकिएको बताए । उनले पर्यटकको ओइरो लाग्ने, आर्थिक उन्नतिको आधार बन्ने ठूलो सपना देखेर नै विमानस्थलमा धेरै ठूलो लगानी भएको बताए । उनले भने, ‘यस विषयमा सम्माननीय प्रधानमन्त्रीसँग पनि कुराकानी गर्नेछु । काठमाडौंमा पनि पटकपटक यसबारे कुरा उठ्ने गरेको छ । यसबारे सरकार र पार्टी केन्द्रको पनि नेताहरुले गम्भिर ध्यानाकर्षण गराउनुभएको छ ।’
मुलुकको अर्थतन्त्रले अनुमति दिन नसक्ने कुराबाहेक संघीय शिक्षा ऐन, संघीय निजामति सेवा ऐन, संघीय प्रहरी ऐन सबै अगाडि बढ्ने र चाँडै नै संसद्मा दर्ता गर्ने प्रक्रियामा रहेको बताए । उपमहानमन्त्री खड्काले ऐन बन्न ढिला भएका कारण प्रदेश र स्थानीय तहको काममा पनि समस्या आएको सबैलाई जानकारी भएकै विषय भएको बताए । उनले शिक्षक महासंघ, प्याब्सन, विद्यालय व्यवस्थापन समिति लगायत क्षेत्रहरुको समस्याको सम्बोधन हुने गरी काम अघि बढेको बताए ।
उनले भारतबाट १ सय रुपैयाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा जनताले विभिन्न दुःखकष्ट भोग्नुपरेको कुरा उठेको बताए । उनले यो समस्याको सम्बोधन भएको आफ्नो बुझाइ रहेको तर सम्बोधन नभएकाले यसबारेमा गम्भिरतापूर्वक लिइ सम्बोधन गर्नेतर्फ अघि बढ्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति समेत रहेका खड्काले कांग्रेस जनताको सुख र दुःख दुवैमा साथी रहेको बताए । उनले कांग्रेसको सिद्वान्त र विचारसँग जनताको कुनै प्रश्न नरहेको दावी गरे । उपसभापति खड्काले भने, ‘जिम्मेवारीमा रहेका नेताहरुसँग जनताको गुनासो छ । आफूलाई सुधार्ने र पार्टीलाई सुधार्ने अहिलेको समयको माग हो । ती गुनासोको सम्बोधन हुनेबित्तिकै हामीसँग अलग भएका जनता कांग्रेससँग जोडिन्छन् र विश्वासको वातावरण बनेपछि छाएको निराशा आशामा बदलिन्छ र हामीले परिणाम दिन सक्छौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij