
शनिवार , भाद्र २, २०८०
रुपन्देही, २ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मिडिया बलियो भए मात्रै सरकार बलियो हुने बताएका छन् । सरकारको आलोचना गरेर लेख्न सञ्चार माध्यम र पत्रकारहरुलाई आग्रह गर्दै उनले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताए ।
शुक्रबार रुपन्देहीको तिलोत्तमामा मिडिया सम्मेलन–२०८० को उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले भने, ‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ । तसर्थ मिडियाहरु बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ । ‘मिडियाहरुले सरकारको गुनगान गाउनु पर्दैन । आलोचनात्मक लेख्नुस् । तर, कसैलाई सिध्याउने गरी मिडिया लाग्नुहुँदैन ।’
प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरी त्यसको सम्भावना रहेको उनले दावी गरे । ‘हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृतिहरु र प्रशस्त हिल स्टेशनहरु छन्’, चौधरीले भने, ‘प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि छलफल गरिरहेको छ ।’ व्यक्तिगत रुपमा अनुदान माग्न नआउन आग्रह गर्दै उनले सञ्चारमाध्यमलाई संस्थागत रुपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पारे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्याल, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलगायतले बोल्दै सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
सम्मेलनमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे, डा. बालकृष्ण चापागाईं, माधव नेपाल, विष्णु भुसाललगायतले सञ्चार माध्यमहरुले बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको उल्लेख गरे ।
सम्मेलनले मोफसलका मिडियाहरुको सबलीकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपतालगायतका विषयमा घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।
सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब २ सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागीता छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij