
बिहिवार , श्रावण ३२, २०८०
भैरहवा, ३२ साउन ।
श्री पक्लिहवा माध्यमिक विद्यालय पक्लिहवा, सिद्धार्थनगर–१, रुपन्देही भुतपूर्व विद्यार्थी समाजले वृक्षारोपण कार्यक्रम गरेको छ । बुधबार विद्यालय परिसरमा समाजले वृक्षारोपण गरेको हो ।
पक्लिहवा भुतपूर्व विद्यार्थी समाज गठन भएपछि पहिलो कार्यक्रम अन्तर्गत विद्यालयमा वृक्षारोपण गरिएको समाजका अध्यक्ष भिम बहादुर थापाले बताए । उनले विद्यालयमा धेरै काम गर्ने सोच रहेको बताए । उनले भने, ‘विद्यालयको शैक्षिक, भौतिक निर्माणलगायत कार्यहरुमा हातेमालो गर्छौैं । ’ रोपिएका विरुवा संरक्षण गर्न उनले विद्यालय परिवारलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका पूर्व प्रधानाध्यापक दिनेश कुमार श्रेष्ठले पक्लिहवा मावि भुतपूर्व विद्यार्थी समाजले केही न केही रचनात्मक काम गर्ने आफूलाई लागेको र वृक्षारोपण गरेर सुरुवात गरिसकेको बताए ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङले वृक्षारोपण मानव जीवनका लागि अपरिहकार्य रहेको बताए । उनले विद्यालय व्यवस्थापन समिति विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक विकासका निम्ति लागिपरेको बताए ।
विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतले विद्यालयको विकास गर्नुपर्छ भनेर लागिपर्नु सराहनीय रहेको बताए ।
पक्लिहवा भुतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष एवं पूर्व वडा सदस्य राजेन्द्र सिंह खड्काको स्वागत तथा सचिव गजेन्द्र कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २५० वटा विरुवा रोपिएको समाजका सदस्य विजय यादवले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij