
मंगलवार , श्रावण ३०, २०८०
भैरहवा, ३० साउन ।
नेपाल मगर विद्यार्थी संघ पक्लिहवा कृषि क्याम्पस इकाई समितिको आयोजनामा मंगलबार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मगर विद्यार्थी संघ रूपन्देहीका जिल्ला अध्यक्ष रमेश सारू मगरले नेपाल मगर विद्यार्थीहरू आफ्नो समुदायमा शैक्षिक जागरण फैलाउँदै अगाडि बढिरहेको र अबको आन्दोलन पहिचानको भएको बताए ।
त्यस्तै क्याम्पस प्रमुख डा. रामभजन मण्डलले क्याम्पसमा अध्ययनरत सबै समुदाय र राजनीतिक दलमा आस्था राख्ने विद्यार्थी समान रहेकोले कुनै किसिमको भेदभाव नहुने स्पष्ट पारे ।
नेपाल मगर संघ अनुशासन समितिका केन्द्रिय सदस्य तथा नेपाल मगर लेखक संघ लुम्बिनी प्रदेशका अध्यक्ष उमेश थापाले आफ्नो मौलिक जातीय पहिचानलाई सो समुदायले नै अनुसरण गर्नुपर्ने बताए । उनले संरक्षण एंव सम्वद्र्धन गर्न सम्बन्धित समुदाय र राज्यको उत्तिकै दायित्व रहने बताए ।
कार्यक्रममा झक बहादुर आले, संजय राना र सागर रेश्मी मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका अध्यक्ष विकल्प घर्ती मगरको अध्यक्षता, सम्झना दर्लामीको स्वागत तथा अपेक्षा थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मगर जातिको मौलिक परम्परागत भेषभुषा पहिरिएर प्रदर्शन गर्नुको साथै मगर जातिको परम्परागत रूपमा नाच्ने घाटु, टप्पा, सोरठी नचरी, भ्याउरे, सालैजो, कौरा साथै विभिन्न नृत्य प्रदर्शन गरिएको थियो । त्यस्ता मौलिक मगर नृत्य सिकाउन पाउँदा खुशी लागेको कोरोग्राफर मोनिका राना मगरले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij