
सोमवार , श्रावण २९, २०८०
भैरहवा, २९ साउन ।
रुपन्देही सामाजिक सञ्जाल–अस्ट्रेलिया (आरएसएनए) ले ब्लड क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ । संस्थाले मिलीजुली परिवारमार्फत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ का ३३ वर्षिय मकरध्वज राई (मुनिल) को परिवारलाई सहयोग गरेको हो ।
राईको आमा ओमकला राई र दिदी देवकला सुर्यवंशीलाई आइतबार १ लाख ३२ हजार १ सय रुपैयाँ हस्तान्तरण गरिएको मिलीजुली परिवारका अध्यक्ष माधव शर्माले बताए । अध्यक्ष शर्माका अनुसार हाल अस्ट्रेलियामा बस्दै आएका रुपन्देही सामाजिक सञ्जाल–अस्ट्रेलियाका अध्यक्षसमेत रहेका मुक्तिराम पोखरललाई क्यान्सरपीडितको बारेमा मिलीजुली परिवारले जानकारी गराएको थियो । त्यसपछि पोखरेलले अष्टे«लियामा रहेका नेपालीलाई आह्वान गरेर उक्त रकम जुटाउनुभएको शर्माले बताए ।
‘विगत ६ महिनादेखि ब्लड क्यान्सरबाट पीडित मकरध्वज राईको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भइ उपचारमा समेत समस्या भएपछि केही भए पनि राहत पुग्छ भन्ने उद्देश्यले अगाडि बढेका हौं, ’शर्माले भने ।
मकरध्वज हाल चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत रहेको शर्माले जानकारी दिए ।
रुपन्देही सामाजिक सञ्जाल-अस्ट्रेलियाका उपाध्यक्ष दिवाकर काफ्ले संस्थाले क्यान्सर पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले हात अघि बढाएको बताए ।
मिलीजुली परिवारका अध्यक्ष माधव शर्माको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको प्रमुख आतिथ्यता, मिलीजुली परिवारका संरक्षक रारा सैंजुको विशिष्ट आतिथ्यता, लायन्स क्लब अप, होलिसिटी, सिद्धार्थनगरका अध्यक्ष सुमन शर्मा, बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, बेलहिया गाउँ समाजका अध्यक्ष मोहन सिंह शाही, सिद्धार्थनगर–२ का वडा सदस्य कञ्चन थापा, विन्दु हरिजन, राजकुमार यादवको आतिथ्यता तथा मिलीजुली परिवारका कोष वृद्धि संयोजक सिर्जना सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij