२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

तथ्यहीन समाचारबाट दुखित छु, विचलित हुँदैन : बैजनाथ गुप्ता

शनिवार , श्रावण २७, २०८०

भैरहवा, २७ साउन ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेयका प्रमुख राजनीतिक सल्लाहकार तथा युवा व्यवसायी बैजनाथ गुप्ता (बी.एन.)ले एक अनलाइन सञ्चार माध्यमले आफ्नो चरित्रहत्या गरेको आरोप लगाएका छन् । उनलाई प्रहरीसँगको मिलेमतोमा तस्करीमा संलग्न भएको दावीसहित एक अनलाइनले समाचार प्रकाशित गरेको थियो ।

समाचारले चरित्रहत्या र समाजमा भ्रम सिर्जना गरेको उनले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी बताएका छन् । गुप्ताले समाचार तथ्यहीन र कपोकल्पित रहेको जनाउँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले आफूले पछिल्लो समय अवैधानिक क्रियाकलापविरुद्ध निरन्तर आवाज उठाउँदै आएकाले चरित्रहत्या गर्न यस्तो गरिएको हुन सक्ने बताए ।

खुल्ला सीमा नाका व्यवस्थित हुनुपर्ने, तस्करी गरी ल्याइएका मोबाइल तथा अन्य एसोसरिजहरु विक्रीवितरण हुन नहुने भन्दै आफूले आवाज उठाइरहेको र तस्करीमा संलग्नहरुबाट आफूविरुद्ध अनर्गल प्रचार हुन थालेको उनले आरोप लगाए । तर भ्रमपूर्ण समाचारबाट भने आफू विचलित नहुने उनले स्पष्ट पारे ।

विगत २ दशकदेखि मोबाइल र त्यसका पाटपूर्जा व्यापारमा संलग्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ निवासी गुप्ता मोबाइल व्यवसायी संगठन, रुपन्देहीका अध्यक्षसमेत हुन् । उनले नवगठित भैरहवा युवा संजाल, रुपन्देहीको अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । 

लामो समयदेखि आफू सामाजिक क्षेत्रमा क्रियाशील हुँदै कानूनसम्मत व्यवसाय गरिरहेको जनाउँदै गुप्ताले भ्रामक समाचारले आफूलाई दुखित बनाएको उल्लेख गरे । उनले आवश्यक परे आफू कानूनी उपचारमा पनि जाने जनाए ।

‘नजिकका साथीभाइ र कानुन व्यवसायीको परामर्शपछि मैले कानूनी उपचार खोज्नेछु’, उनले भने, ‘कुनै प्रमाणबिना कुनै समाचार लेख्नु राम्रो होइन्, यस्ता कार्य रोकिनुपर्छ ।’ यही क्षेत्रमा रहेर २ दशकदेखि व्यवसाय, राजनीति र समाजसेवा गरिरहेको बताउँदै गुप्ताले कहिल्यै पनि प्रहरी प्रशासनलाई अवैध काममा साथ नदिएको, गलत गर्नेलाई छुटाउन पहल नगरेको जिकिर गरे । उनले स्वच्छ, पारदर्शी र कानुनसम्मत काम गरिरहँदा आफूलाई विवादित र मानमर्दन हुने गरी समाचार प्रकाशन गर्नु दुःखद  भएको जनाए ।

समाचार लेख्दा आफ्नो प्रतिक्रियासमेत नलिइएको जनाउँदै उनले आउँदा दिनमा यस्तो नगर्न अनुरोध गरेका छन् । उनले यही क्षेत्रमा बसेर सधैं सामाजिक क्षेत्रमा क्रियाशील रहने वाचा गर्दै कसैको आरोपले आफू विचलित नहुने जनाए । ‘यस्ता भ्रामक समाचारबाट म विचलित हुँदैन’, उनले भने, ‘तर, तथ्यहीन समाचारले चिन्ता भने थपिँदो रहेछ ।’ उनले सधैं सत्यतथ्य र भैरहवा क्षेत्रको विकासका लागि पहलकदमी र आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाए ।