२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

लुम्बिनी वल्ड स्कूलमा बाल क्लब गठन

शनिवार , श्रावण २७, २०८०

तिलोेत्तमा, २७ साउन । 
रुपन्देहीको तिलोत्तमास्थित लुम्बिनी वल्ड स्कुलमा एक नमूना निर्वाचन कार्यक्रम सम्पन्न गरी बाल क्लबको गठन भएको छ । विद्यालयका सामाजिक विभागका शिक्षक कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा गठित ६ सदस्यीय निर्वाचन आयोगले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई सहभागी गराई उक्त निर्वाचन सम्पन्न गराएको थियो ।

गठित निर्वाचन आयोगले बाल क्लबका पदाधिकारीहरुको साथै विद्यालयमा रहेका ४ सदनका नेतृत्वकर्ता पदहरु, अध्यक्ष र उपाध्यक्षका लागि पनि हरेक सदनका विद्यार्थीहरूलाई आआफ्नो सदनको बुथमा लामबद्ध गराई मतदान प्रक्रियाद्वारा नेतृत्व चुन्ने अवसर सिर्जना गराएको थियो ।

हरेक कक्षाबाट (१ देखि ९) एक/एक जना प्रतिनिधि चुनिने गरी सम्पन्न मतदानबाट बाल क्लबको अध्यक्षमा सन्दर्भ पाठक निर्वाचित भएका छन् । साथै चार सदनहरु सगरमाथा, ल्होत्से, मनास्लु र मकालुबाट पनि एक/एक जना अध्यक्ष र एक/एक जना उपाध्यक्ष निर्वाचित भएको स्कूल निर्वाचन समितिले जनाएको छ ।

झट्ट हेर्दा नेपाल सरकारको निर्वाचन आयोगले गर्ने आम निर्वाचनको झल्को दिने गरी सम्पन्न उक्त निर्वाचनमा सम्पूर्ण चुनावी प्रक्रियाहरू अपनाइएको थियो । यो निर्वाचनको उद्देश्य नेतृत्व चुन्ने मात्र नभइ गरेर सिक्ने भन्ने मन्त्रकासाथ अगाडि बढिरहेको लुम्बिनी वल्र्ड स्कुलको मूल मान्यतालाई स्थापित गर्न विद्यार्थीहरूमा नेतृत्व विकास गर्नु तथा शैक्षिक सत्र भरी विभिन्न शैक्षिक र अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूको संयोजन र सहभागीताको लागि उत्प्रेरणा मिलोस् भन्ने थियो ।

निर्वाचन सम्बन्धि विषयवस्तु सामाजिक तथा मानवमूल्य शिक्षा विषय अन्तर्गत पाठ्यक्रममा पनि रहेको हुँदा सोसँग सम्बन्धित पाठ्यसामग्री प्रयोग गर्दै निर्वाचन पूर्ण निष्पक्ष र गोप्य मतदान प्रक्रियामा प्रत्यक्ष रूपमा विद्यार्थीहरू सहभागी हुन पाउँदा अत्यन्तै हर्षित र प्रफुल्ल देखिन्थे । निर्वाचनको पर्यवेक्षकको रूपमा विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकालले भूमिका निर्वाह गर्दै निर्वाचन स्वच्छ वातावरणमा विद्यार्थीहरूलाई सिक्ने मौका प्रदान गरेको बताए ।
कार्यक्रम सम्पन्न गर्नको लागि सह–प्राचार्यद्वय रमेशमणी सुवेदी र लजिता शर्मा तथा सम्पूर्ण शिक्षकशिक्षिकाहरू, विद्यार्थी स्वयंसेवक र अन्य कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका रहेको विद्यालयले जनाएको छ । 

प्रथम त्रैमासिक अवधिको अन्त्यको अवसरमा विद्यालयमा निर्वाचनका अतिरिक्त विद्यार्थीहरूलाई साउन २३ र २४ गते दुईदिन अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरू तथा खेलकुद जस्तै चित्रकला, टेबलटेनिस, बास्केटवल, व्याडमिन्टन, संगीत आदिमा पूर्ण रुपमा सहभागी गराइएको थियो ।

साथै फुटसल र पौडीमा विद्यार्थीहरूबीच प्रतियोगिता गराइ प्रतिष्पर्धा गराइएको थियो ।  विद्यार्थीहरूको पूण रुपमा सहभागीता हुने गरी तथा उनीहरूको वृहत्तर वृत्ति विकास हुने गरी गरिएका माथि उल्लेखित सबै नमूना कार्यक्रमहरूको योजना, व्यवस्थापन र संयोजन विद्यालयका शैक्षिक निर्देशक तथा अनुसन्धान विभाग प्रमुख डा. मीनप्रसाद खनालले जानकारी दिए ।