
बुधवार , श्रावण १७, २०८०
रुपन्देही, १७ साउन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्डअनुसार नभएकाले विरोध गर्ने भएको छ ।
बुधबार रुपन्देहीको बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले प्रदेशका १२ जिल्लामै विवाद देखिएकाले विरोध गर्ने निर्णय गरेको हो । बैठकले महासंघले मापदण्डअनुसार नभइ व्यक्ति हेरेर पत्रकारको शुद्धीकरण गरेको जनाउँदै आपत्ति जनाएको छ ।
विरोधका कार्यक्रम अन्तर्गत पत्रकार महासंघ लुम्बिनीलाई ज्ञापनपत्र बुझाउने, सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणमा जिल्लामा देखिएका विवाद समाधान गर्न आग्रह गर्ने र विवाद समाधान नभएको खण्डमा महासंघको कार्यकक्षमा तालाबन्दी गरिने अध्यक्ष शोभाखर पन्थीले जानकारी दिए ।
प्रदेश समिति बैठकले राजनीतिक आस्थाका आधारमा उस्तै प्रकृतिको काम गर्ने व्यक्ति पनि कोही रहने र कसैलाई हटाउने काम भएको भन्दै जिल्लाको विवादित निर्णय सच्याउन पत्रकार महासंघ प्रदेश समितिलाई आग्रह गरेको छ ।
राजनीतिक आस्थाकै आधारमा पत्रकार महासंघले सदस्यता शुद्धीकरण र वितरणको काम गरेका कारण आफूहरुको असहमति रहेको महासचिव निरु गौतमले बताइन् ।
बैठकमा नेकपा (एमाले) लुम्बिनी प्रदेश समितिका अध्यक्ष राधाकृष्ण कंडेलले प्रेस चौतारी सक्रिय पत्रकारको संस्था भएको जनाउँदै अझै चुस्तदुरुस्त बनाएर अघि बढाउन आग्रह गरे ।
प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले राजनीतिक पूर्वाग्रह राखेर सदस्यता शुद्धीकरण भए मान्य नहुने चेतावनी दिए । उनले मापदण्ड बाहिर गएर प्रक्रिया अघि नबढाउन पत्रकार महासंघलाई सुझाव समेत दिए ।
बैठकमा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरे, प्रेस चौतारी विभाग लुम्बिनीका इञ्चार्ज मोहन चापागाईं, प्रेस चौतारी लुम्बिनी प्रदेशका सह–इञ्चार्जहरु रुद्र भुसाल, टिका बस्नेत, पार्वती पाण्डे, कमल तिमिल्सेना, प्रदेश उपाध्यक्ष दशरथ घिमिरे लगायतले बोल्दै सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको काममा गम्भीर बन्न पत्रकार महासंघलाई सुझाव दिए ।
बैठकमा प्रेस चौतारीका जिल्ला इञ्चार्जहरु अमृता अनमोल, नवराज भुसाल, मिलन विक, अमृत गिरी, टोपराज शर्मा, गणेश आचार्य, सन्तोष दहितले पत्रकार महासंघको गरीमा कायम राख्ने गरी शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणको काम अघि बढाउन आग्रह गरे ।
त्यस्तै प्रेस चौतारीका रुपन्देहीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, पाल्पा अध्यक्ष कृष्ण कार्की, दाङ अध्यक्ष इन्द्र डिसी, प्युठान अध्यक्ष वासुदेव गिरी, गुल्मी उपाध्यक्ष नारायण प्रभात मरासिनीलगायतले महासंघले मापदण्डविपरीत राजनीतिक पूर्वाग्रहका आधारमा सदस्यता शुद्धीकरण र वितरणको काम गरिएको भन्दै आपत्ति जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij