
बुधवार , श्रावण १७, २०८०
बुटवल, १७ साउन । बुटवल उपमहानगरपालिकाले नक्कली लालपूर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ।
बुटवल ११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा मंगलबार दिउसो पुगेको टोलीले नक्कली लालपूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो।
टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिए ।
उनका अनुसार टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धि काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिनेछ।
टोल विकास संस्थाले लालपूर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीय ललिता गुरुङले बताए। उनका अनुसार लालपूर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाइएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij