२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

समाजसेवी गणेशमान सैंजुको ९१ औं जन्मजयन्तीमा सम्मान कार्यक्रम 

बुधवार , श्रावण १७, २०८०

बुटवल, १७ साउन । 
वरिष्ठ समाजसेवी गणेशमान सैजुको ९१ औं जन्मजयन्तीको अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । धार्मिक गतिविधिमार्फत समाजमा योगदान पुर्याएको भन्दै धर्मपाल, कर्मयोगी लगायतका उपाधिहरु समेत प्राप्त गरिसकेका स्व.सैंजुको सम्झनामा प्रत्येक वर्ष सम्मान कार्यक्रम आयोजना गर्ने गरिएको छ । 

विश्व हिन्दु महासंघ रूपन्देही र कर्मयोगी गणेशमान–कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट)ले एक कार्यक्रम गरी संगितकार सुरेश सेन्चुरी, रक्तदान अभियन्ता कृष्ण चौहान क्षेत्री, वरिष्ठ पत्रकार महेन्द्र थापा, समाजसेवी ध्रुवराज काफ्लेलगायतलाई सम्मान गरेको हो । 

कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले हिन्दु धर्म नै आज संसारमा रहेका सबै धर्मको मूल श्रोतका रुपमा रहेको दावी गरे । हिन्दु धर्मको संरक्षणमा स्व.गणेशमान सैंजुले पुर्याएको योगदानको चर्चा गर्दै वरिष्ठ अधिवक्तासमेत रहेका पौडेलले धर्मपाल, कर्मयोगीलगायतका उपाधिबाट शुसोभित भइ स्व.सैंजुले समाजसेवामा समर्पित रहेर प्रतिष्ठा आर्जन गरेको उल्लेख गरे । 

विश्व हिन्दु महासंघ रूपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले धार्मिक कार्यमार्फत समाजसेवा गर्ने स्व.सैंजुको स्वभाव आगामी पुस्ताका लागि पनि अनुकरणीय रहने बताए । 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल प्रसाद कसजुले स्व.सैजुले समाजसेवाको क्षेत्रमा पुराएको योगदान र मार्गदर्शनको चर्चा गरे । 

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्व.सैंजुबाट समाजसेवाको परिभाषा सिक्न सकिने अवस्थाको स्मरण गरे ।

कार्यक्रममा कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान–कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) का संरक्षक अनुपमान सैजु, विश्व हिन्दु महासंघ बुटवल नगर अध्यक्ष चन्द्रमान श्रेष्ठ र सम्मानित ब्यक्तिहरु संगितकार सुरेश सेन्चुरी, रक्तदान अभियन्ता कृष्ण चौहान क्षेत्री, पत्रकार महेन्द्र थापा, समाजसेवी ध्रुवराज काफ्ले, लगायतले स्वर्गिय गणेशमान सैंजुले बुटवलको बिकास र समाजसेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए । 

बुटवलमा वृद्धाश्रम, पुस्तकालय, धर्मशाला लगायतका थुप्रै संघ–संस्था स्थापना गरेका स्व.सैंजुले विगतमा विश्व हिन्दु महासंघ, पश्चिम नेपाल बस व्यवसायी संघ, नवजागृति पुस्तकालयलगायत रुपन्देहीका १ दर्जन भन्दा बढी संघ–संस्थाको नेतृत्व गरेका थिए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरेका थिए ।