
मंगलवार , श्रावण १६, २०८०
भैरहवा, १६ साउन ।
मर्चवार सन्देश साप्ताहिक पत्रिकाको कार्यालयमा ढुंगा प्रहार गर्दे कार्यालय प्रवेश गरी हुलहुज्जत गर्ने समूहलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ रुपन्देहीले माग गरेको छ । पत्रकार महासंघ रुपन्देहीले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त पत्रिकाको कार्यालयमा साउन १५ गते सोमबार राती भएको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
‘रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ७ स्थित मिडियाचोकमा राती ९ बजेको समयमा समाचारको विषयलाई लिएर मर्चवारी गाउँपालिका–१ सेमरा बस्ने रिंकु ढाँडी, वडा नम्बर १ हरिनगाढे बस्ने अजय यादव, वडा नम्बर १ कचरिहवा बस्ने विकास यादव र वडा नम्बर ३ सेमरा बस्ने अमर यादव रहेकाले कार्यालयमा पसी हुलहुज्जत गर्दै पत्रिकाको कार्यालयमा ढुंगा प्रहार गरी आतंकित पारिएको छ, ’विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सीलमा उजुरी गर्न सक्ने प्रावधान हुँदाहुँदै सञ्चार गृहमाथि नै आक्रमण गर्ने र पत्रकारलाई असुरक्षित बनाउने कार्य निन्दनीय छ । ’
नेपाल पत्रकार महासंघ रुपन्देहीका साधारण सदस्य हृदयराम गुप्ता प्रकाशक/कार्यकारी सम्पादक रहेको मर्चवार सन्देश पत्रिका साताको आइतबार मर्चवार क्षेत्रबाट प्रकाशित हुँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij