
मंगलवार , श्रावण १६, २०८०
भैरहवा, १६ साउन ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुपन्देही जिल्ला समितिले भष्टाचारविरुद्ध सरकारले चालेको कदमको समर्थनमा संकलित हस्ताक्षर बुझाएको छ । अखिल (क्रान्तिकारी) रुपन्देहीले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई उक्त हस्ताक्षर बुझाएको हो ।
सरकारले भ्रष्टाचारविरुद्ध अगाडि बढाएको अभियानको समर्थनमा संगठनले रुपन्देही जिल्लाभित्र रहेका विभिन्न क्याम्पसहरुमा ‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ भन्ने नाराका साथ संकलित ३ हजार वटा हस्ताक्षर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं पठाउनको लागि हस्ताक्षर संकलित कपडा बुझाइएको अखिल (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष कपिल चापागाईले बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध कारवाहीका कार्य गरिरहेको अवस्थामा केही राजनीतिक पार्टी र सांसद्हरुले संसदभित्र र बाहिर भ्रष्टाचारको पक्षमा वकालत गरिरहेको आरोप लगाए ।
उनले नेपालमा बढ्दो भ्रष्टाचार र यसले नेपाली समाजलाई आक्रान्त पारेको अवस्थामा हालै सरकारले तदारुकताका साथ भ्रष्टाचार निर्मुल पार्ने कदम अगाडि बढाएकोमा आफूहरुको ऐक्यवद्धता रहेको जनाए । अध्यक्ष चापागाईले भने, ‘यस्ता जनप्रिय कदम कुनै हालतमा रोकिनु हुँदैन भन्ने हाम्रो संगठनको मान्यता रहँदै आएको छ । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij