२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

पेट्रोलियम व्यवसायीलाई अग्नी सुरक्षासम्बन्धी अभिमुखीकरण 

सोमवार , श्रावण १५, २०८०

बुटवल, १५ साउन ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल रुपन्देहीले पेट्रोल पम्पमा हुन सक्ने आगलागी तथा आगलागी नियन्त्रणका विषयमा सदस्य व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ ।

एशोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीको सहजीकरणमा व्यवसायीहरुलाई आगालागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा अभिमुखीकरण गरेको हो । 

पेट्रोलियम पदार्थ अति नै संवेदनशील र अत्यधिक प्रज्वलनशील पदार्थ भएकाले एशोसिएसनले वार्षिक कार्ययोजना अनुसार एशोसिएसनमा आबद्ध व्यवसायीहरुलाई अग्नी सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको एशोसिएसनका अध्यक्ष हिमाल गैरेले बताए ।

सबै पेट्रोल पम्पहरुमा अग्नी नियन्त्रण गर्ने उपकरणहरुको व्यवस्था भए पनि उपकरण प्रयोग गर्न नजानेमा हुने क्षति नियन्त्रण तथा उपकरण प्रयोग गर्ने सही विधिका विषयमा निगमका दक्ष प्राविधिकहरुबाट प्रयोगात्मक सहजीकरण गरिएको एशोसिएसनका अध्यक्ष गैरेले जानकारी दिए ।

कार्यक्रममा नेपाल आयल निगमका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवले यस्ता कार्यक्रमले पेट्रोल पम्पहरुमा आगलागी हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता र आगलागी भइहालेमा अग्नी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

नेपाल आयल निगम भलवारी परिसरमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा आयल निगमका उपप्रबन्धक अशोक अर्याल,  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केन्द्रीय सदस्य राजु न्यौपाने, निगमका प्राविधिक  श्यामलाल खनाल र उमेशजंग रायमाझीलगायतले कार्यक्रम उपलब्धीमूलक भएको भन्दै आगामी दिनमा पनि यसलाइ निरन्तरता दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा डिलर व्यवसायी एवं निगमका कर्मचारी गरी ११० जनाको सहभागीता रहेको एशोसिएसनका महासचिव हरिराम कसौधनले जानकारी दिए ।