२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

‘इमान्दारिता बिनाको सफलताले अर्थ राख्दैन’

आइतवार , श्रावण १४, २०८०

भैरहवा, १४ साउन ।
लिडरसीपमा इमान्दारिता पहिलो शर्त भएकोले इमान्दारिता बिनाको सफलताले  कुनै अर्थ नहुने एक लिडरले बताएका छन् । भैरहवामा शनिबार आयोजित ७९ औं लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) मा अतिथि वक्ताका रुपमा रहेका लिडर रविन्द्र मिश्रले विकसित देशका विभिन्न क्षेत्रका कयौं  लिडरहरुसमेत  आर्थिक क्षेत्रमा इमान्दार नहुँदा आफ्नो क्यारियर बिगारेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्रले प्रशिक्षार्थीहरुलाई इमान्दार बन्न उत्प्रेरित गरे । 

शनिबार भएको तालिममा सहभागी उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई सामूदायिक विद्यालय तथा सार्वजनिक शिक्षाको महत्वबारे विचार व्यक्त गरेका थिए  । त्यस्तै तालिमले उद्योगी व्यवसायीलाई आशावादी भएर उद्यमशीलतामा लाग्न उत्प्रेरित गरेको ७९ औं श्रृंखलाका कार्यक्रम सञ्चालक तथा प्रशिक्षार्थी ट्रान्सपोर्ट व्यवसायी मुन्ना ठाकुरले बताए । मिश्रले लिडरसीप स्किल्स डेभलपमेन्टका बारेमा आफ्नो पुस्तकमा उल्लेख भएका सन्दर्भलाइ जोड्नुभएको कार्यक्रमको अध्यक्षता गरेका युवा श्याम यादवले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा व्यवसायी दुर्गा प्रकाश गुप्ताले लिडरसीप स्किल्स डेभलपमेन्ट तालिमले प्रशिक्षार्थीहरुलाई असल नागरिक बन्न सिकाएको भन्दै यो तालिमको श्रृंखला रोकिन नहुने बताए । उनले यसलाई नियमित गर्न गराउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने समेत बताए ।

कार्यक्रम संयोजक पुजा आचार्यले उपस्थितिलाई स्वागत गर्दै हरेक सप्ताह प्रशिक्षार्थीहरु मध्येबाट नै विभिन्न पदीय भूमिका निर्वाह गर्ने अवसर मिल्नाले वाककला तथा कार्यक्रम व्यवस्थापनको क्षमता अभिवृद्धि भएको बताइन् ।

यो तालिममा विशेष अवसरबाहेक सहभागी प्रशिक्षार्थीहरुलाई विभिन्न जिम्मेवारी तोकिने तालिमका सहजकर्ता तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सचिव मंगल भण्डारीले बताए ।

७९ औ श्रृंखलामा करिब ८० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न संघ–संस्थाका अगुवाहरु, उद्योगी व्यवसायी, शिक्षक, विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो । तालिममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवाकी कार्यकारी निर्देशक स्वाती थापा अतिथिको रुपमा उपस्थित हुनुभएको मुनलाइट स्कूल सञ्चालक समिति सदस्य त्रिलोकी तेलीले बताए ।

७९ औं श्रृंखलालाइ बोन जे टूरका सञ्चालक संजिव जोशीले आर्थिक रुपमा  प्रोत्साहन गर्नुभएको व्यवसायी मदन पौडेलले जानकारी दिए । तालिमलाई नमस्ते तेलका सञ्चालक अर्पित अग्रवाल र युवा उद्यमी कमल ज्ञवालीले पनि सहयोग गरेका छन् ।

यो तालिम गत २ वर्षदेखि विजय पाण्डेको प्रस्तुतिमा सञ्चालन हुँदै आएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीका आजीवन सदस्य पाण्डे तालिमका मुख्य प्रशिक्षक हुन् । तालिम ६५ औं श्रृंखलासम्म सिद्धार्थ उद्योग वाणिज्य संघमा सञ्चालन हुँदै आएकोमा अहिले भैरहवास्थित होटेल पौवामा सञ्चालन हुँदै आएको प्रशिक्षार्थी नारायण आचार्यले जानकारी दिए ।