
सोमवार , माघ ५, २०७७
बुटवल, ५ माघ ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सवारी दुर्घटनामा वृद्धि भएको पाइएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्ष सवारी दुर्घटनामा वृद्धि भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यस वर्ष पहिलो ६ महिनामा ९ सय १ वटा दुर्घटना भएका छन भने ती दुर्घटनामा पनि २ सय ५६ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष यस अवधीमा ७ सय ७३ वटा सवारी दुर्घटना भएका थिए भने २ सय ७६ जनाको ज्यान गएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार समिक्षा अवधीमा लुम्बिनी प्रदेशका १२ जिल्लामा सवारी दुर्घटनामा १२ दशलव ५४ प्रतिशतले वृद्धि भएको छ भने मृत्यूदरमा ७ दशमलव २४ प्रतिशतले कमि आएको छ ।
यसैबीच सडकमा हुने सवारी दुर्घटना र धनजनको क्षति न्यूनिकरण गर्ने उद्देश्यले बुटवलका सडकमा गुड्ने टिप्परलाई टाईमकार्ड लागू गरिएको छ । खानी तथा खोलाबाट गिट्टी, बालुवा र ढुंगा बोकेर निर्वाध सडकमा गुड्ने टिप्परका कारण दुर्घटनाको जोखिम बढेको भन्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयले टाईमकार्ड लागु गरेको हो ।
अन्य सवारीसाधनको तुलनामा टिप्परका कारण दुर्घटना बढी हुने गरेको ठहर गर्दै दुर्घटनालाई नियन्त्रण गर्ने उदेश्यले टिप्परहरुलाई टाईमकार्ड लागू गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रमुख, प्रहरी उपरीक्षक डम्बर विकले बताए । सडकमा सवारीसाधनको भिड बढ्दै गएको र लेन अनुशासन पालना नगर्दा दुर्घटना बढेको उल्लेख गर्दै उपरीक्षक विकले टिप्परका कारण दुर्घटना बढेको जनगुनासो बढेकोले टिप्परलाई टाईमकार्ड लागु गरिएको प्रष्ट पारेका छन् ।
हालका लागि पाल्पाको दोभानदेखि बुटवल, भैरहवा र नवलपरासीको सुनवलसम्म मात्र टाईमकार्ड लागु गरिएको र पछि प्रदेशका विभिन्न स्थानमा बिस्तार गर्दै लैजाने योजना रहेको उपरीक्षक विकले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij