
शनिवार , आषाढ १६, २०८०
भैरहवा, १६ असार ।
लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको पद हस्तान्तरण कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । क्लबको गत वैशाख ६ गते सम्पन्न बैठकबाट सर्वसम्मत चयन ११ सदस्यीय कार्यसमितिलाई पद हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष देवराज न्यौपानेले बताए ।
कार्यक्रममा क्लबका वर्ष २०२२/०२३ का अध्यक्ष एमजेएफ मंगल भण्डारीले वर्ष २०२३/०२४ का अध्यक्ष सुमन शर्मालाई पद हस्तान्तरण गरेका थिए । २०२३/०२४ का लागि अध्यक्षमा निर्वाचित शर्मा रेडक्रस, जेसीजलगायत विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध छन् ।
लायन्स होलिसिटी सिद्धार्थनगर वर्ष २०२३/०२४ को लागि प्रथम उपाध्यक्षमा ऋषिराम पाण्डेय, द्वितीय उपाध्यक्षमा गौरवलाल श्रेष्ठ, तृतीय उपाध्यक्षमा दीपक काफ्ले, सचिवमा पंकज उदास र कोषाध्यक्षमा माधव शर्मा रहेका छन् । त्यस्तै क्लबको एलसीआईएफ कोर्डिनेटरमा सागर पोखरेल, क्लब मेम्बर चेयरपर्सनमा रवि थपलिया, सर्भिस चेयरपर्सनमा दीपक सापकोटा, डाइरेक्टरमा विक्रम पन्थी र मार्केटिङ चेयरपर्सनमा पवन क्षेत्री रहेका छन् ।
कार्यक्रममा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित कोटही आधारभूत विद्यालयका पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । क्लबले प्रत्येक वर्ष उक्त विद्यालयका पाँचजना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने क्लबका वर्ष २०२२/२३ का अध्यक्ष मंगल भण्डारीले बताए । उनले भने, ‘कोटही आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये प्रत्येक वर्ष ५ जना विद्यार्थीहरुको शैक्षिक सामग्रीलगायत लाग्ने सम्पूर्ण खर्च क्लबले व्यहोर्नेछ ।’
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का इलेक्ट सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्सको माध्यमबाट नयाँ कुरा सिक्न पाइएको बताए । उनले लायन्समा कुनै पनि विसंगति नआओस् भन्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम गर्दै जाने बताए । उनले भने, ‘सुमन शर्मा नेतृत्वको कार्यसमितिले अझ रचनात्मक कार्य गर्दै क्लबको गरिमालाई अझ उच्च बनाउनुपर्छ ।’
त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरले धेरै राम्रो काम गरेको बताइन् । उनले क्लबका वर्ष २०२२/२३ का अध्यक्ष मंगल भण्डारीले कोभिडको बेला पनि धेरै सेवा गर्नुभएको बताइन् ।
क्लबका वर्ष २०२२/२३ का अध्यक्ष एमजेएफ मंगल भण्डारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा लायन्सका अगुवाहरु ओम कुमार श्रेष्ठ, महेशचन्द थापा, सुशील गुरुङ, नेत्र प्रसाद आचार्य, राकेश गुरुङ, देवराज न्यौपानेलगायतले बोल्दै लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरले उदाहरणीय कार्य गरेको बताए । क्लबले वर्ष २०२२/२३ मा २२ वटा कार्यक्रम गरेको सचिव दीपक काफ्लेले बताए ।
क्लबका अध्यक्ष मंगल भण्डारीको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का इलेक्ट सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईको प्रमुख आतिथ्यता, लायन्स होलिसिटी सिद्धार्थनगरका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक रवि थपलियाको स्वागत, ऋषिराम पाण्डेयको ध्वजा अभिवादन तथा दीपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij