
शनिवार , आषाढ १६, २०८०
भैरहवा, १६ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगरको नवनिर्मित सभाहलको उद्घाटन भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित कालिकापथमा रहेको क्लबको सचिवालय भवनको दोस्रो तल्लामा निर्मित सभाहलको लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ पी का संस्थापक गभर्नर नवराज न्यौपानेले शुक्रबार उद्घाटन गरेका हुन् ।
सभाहल ‘स्व. ओमनाथ सावित्री न्यौपाने कक्ष’ को उद्घाटन गर्दै गभर्नर न्यौपानेले बोलेको कुरा पुरा गर्नुपर्छ भन्ने हेक्का राख्नुपर्ने बताए । उनले आर्थिक मन्दीका बाबजुद लायन्स क्लब अफ सिद्धार्थनगरले सभाहल निर्माण गरेर राम्रो काम गरेको बताए । उनले भने, ‘काम सफलतापूर्वक सम्पन्न गर्न टीमवर्क आवश्यक हुन्छ ।’
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर थापाले आफ्नो कार्यकालमा सभाहल बनाउने योजना रहेअनुसार निर्माण सम्पन्न भएको बताउँदै सहयोगी सबैमा आभार प्रकट गरे ।
सभाहल निर्माण समितिका संयोजक तथा क्लबका सह–कोषाध्यक्ष कमल ज्ञवालीले समयमै निर्माण सम्पन्न गर्न सबैले हातेमालो गरेकोले सम्भव रहेको बताए । उनले रु. १६ लाख बढी लागतमा सभाहल निर्माण भएको जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का इलेक्ट गभर्नर अर्जुनमान सैंजु, इलेक्ट फस्ट भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, डिष्ट्रिक सेक्रेटरी सन्दिप कसौधन, डिस्टिक को–चिफ एड्भाइजर ओम कुमार श्रेष्ठ, राजेश खरेल, लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष तथा जोन चेयरपर्सन नेत्र प्रसाद आचार्य, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीलगायतले सभाहल निर्माणले कार्यसम्पादनमा मद्दत पुग्ने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२२/२३ का अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, संस्थापक डिष्ट्रिक गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, सभाहल निर्माण समितिका संयोजक कमल ज्ञवालीको स्वागत, रघु खनालको ध्वजा अभिवादन तथा सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij