२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रोटरी बुटवलले रेडक्रसलाई हस्तान्तरण गर्‍यो रगत संकलन गर्ने एम्बुलेन्स

शुक्रवार , आषाढ १५, २०८०

बुटवल, १५ असार ।
रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ ।

रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपटक ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याइएको छ । उक्त एम्बुलेन्सभित्रै बसेर रक्तदान गर्न सकिन्छ । रोटरी क्लब अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रस सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । यो एम्बुलेन्स खरीदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ ।

रोटरी क्लब अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए । उनकाअनुसार यो एम्बुलेन्समा बसेर एकैपटकमा ५ जनाले रक्तदान गर्न सक्छन् । ‘अब यसलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्छ, क्लबले यस्ता रचनात्मक काम आगामी दिनमा पनि गर्दै जानेछ’–उनले भने । अध्यक्ष पियाले क्लबले रुपन्देहीमा मात्रै १० करोडभन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको बताए ।

रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्याइने नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले बताए । उनले अब यसको सञ्चालनमा लागि कार्यविधि निर्माण गरिने र सोहीअनुसार कार्यान्वयमा लगिने बताए । 

क्लबले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो । तर कोरोना महामारीका कारण क्लबको परियोजना पछाडि धकेलियो । क्लबका पूर्वअध्यक्ष डिल्लीनारायण श्रेष्ठको पालामा अघि बढेको यो प्रोजेक्टले बोनिन पियाको पालामा मूर्त रुप लिएको हो ।

क्लबका अध्यक्ष पियाले आफ्नो कार्यकालको अन्तिम दिन रक्त संकलन मोबाइल एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा गौरव लागेको बताए । रगत संकलन गर्दै हिंड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अब रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ ।

357140129_1288984091722855_7004064536757100123_n.jpg

रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र होइन, रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था एम्बुलेन्सभित्रै छ । रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ ।

रगत संकलन एम्बुलेन्स ल्याइएपिछ प्रतिकुल मौसममा समेत रगत संकलन गर्न सहज हुने छ । रक्त संकलन एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लबले गरेको यो कार्य निकै सराहनीय रहेको भन्दै प्रशंसा गरे । उनले बुटवलबासीका निम्ति निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीहरुले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताए ।

रोटरी डिष्ट्रिक इन्टरनेशनल ३२९२ का वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले रक्त संकलन मोवाइल एम्बुलेन्स ल्याउने प्रक्रियामा विभिन्न रोटरीयनहरुको योगदानलाई भुल्न नहुने भन्दै यसको सफल सञ्चालनमा लागि जोड दिन आग्रह गरे ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सरकारी अस्पताललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको सहज उपचार कसरी गर्न सकिन्छ भन्ने कुरालाई महत्व दिएको भन्दै सरकारले बजेट उपलब्ध नगराउँदा र अस्पतालको आफ्नै आम्दानीको स्रोत खुम्चिंदा भने सेवा सञ्चालनमा कठिनाइ आइरहेको बताए । 

रक्त संकलन एम्बुलेन्सका लागि प्रोजेक्ट तयार पार्ने काममा मुख्य भूमिका खेलेका क्लबका पूर्वअध्यक्ष राजेन्द्र लम्सालले रोटरीयनहरुले आफ्नो पैसा खर्च गरेर सामाजिक क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिंदै यसका लागि रोटरी इन्टरनेशनल अन्तर्गतको रोटरी फाउण्डेशनबाट पनि ठूलो सहयोग प्राप्त भइरहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान, क्लबका सचिव लालहरि पाण्डेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।