
शुक्रवार , आषाढ १५, २०८०
भैरहवा, १५ असार ।
नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देहीको दोस्रो साधारणसभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाले यादव प्रसाद आचार्य (वाई.पी.) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सरिता राना, सचिवमा अंकित पौडेल, कोषाध्यक्षमा सरोज ठकुरी र सह–सचिवमा लीलाधर भट्टराई रहेका छन् ।
त्यस्तै सदस्यहरुमा लक्ष्मण रेग्मी, राजन गुप्ता, विधान भुर्तेल, सुशान्त पौडेल र प्रतिक भण्डारी रहेको संघले जनाएको छ । अध्यक्षमा चयन भएका आचार्यले आफ्नो जिम्मेवारी थपिएको भन्दै रगतको अभावमा मानिसको ज्यान जाने परिस्थिति उत्पन्न हुन नदिने गरी अघि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले रक्तदान गराउनु र बिरामीको सेवा गर्नु संस्थाका मुख्य उद्देश्य भएको बताए । उनले संघको देशव्यापी रुपमा समिति गठन गर्ने बताए । उनले भने, ‘सरकारले गर्ने काम नेपाल नियमित रक्तदाता संघले गरिरहेको छ । दिनरात नभनी लागिरहेका छौं । बिरामीलाई कसरी छिटो भन्दा छिटो रगत उपलब्ध गराउन सकिन्छ र मृत्युबाट बचाउन सकिन्छ भन्नेतर्फ लागेका छौं ।’
नियमित रक्तदाता संघ सिद्धार्थनगरका सल्लाहकार गणेश बेल्बासेले पवित्र भावनाका साथ काम गरिरहेको यो संस्थालाई अगाडी बढाउन आफूले भूमिका निर्वाह गर्ने बताए । उनले संस्थाले धेरै राम्रो काम गरेको दावी गरे ।
संघका सल्लाहकार सुशील गुरुङले रुपन्देहीमा सहज रुपमा रगत उपलब्ध भएको बताए । उनले नयाँ टीमले रफतारमा काम गर्ने विश्वास व्यक्त गरे ।
संघका अर्का सल्लाहकार अनिल कुमार ज्ञवालीले मृत्युबाट मानिसलाई बचाउने भएकाले रक्तदान पवित्र कार्य भएको बताए । उनले भने, ‘सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
संघका संस्थापक अध्यक्ष संगम न्यौपानेले नेपाल नियमित रक्तदाता संघ सामाजिक कार्य गर्ने संस्था भएको बताए । उनले नेतृत्वलाई कार्यसमितिले साथ दिनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij