
बिहिवार , आषाढ १४, २०८०
रुपन्देही, १४ असार ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा ५९४ भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरेको छ । वडा नम्बर ६, ७ र ८ का जग्गाधनीलाई जोतभोगको आधारमा गाउँब्लक जग्गाको पूर्जा वितरण गरिएको हो ।
नापी कार्यालय, रुपन्देही र गैडहवा गाउँपालिकाले बिहीबार आयोजना गरेको गाउँब्लक जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार एक उनीहरुलाई पूर्जा वितरण गरिन् । कार्यक्रममा बोल्दै उनले सरकारले नापजाँच गर्न छुटेका गाउँब्लक तथा सुकुम्बासीका जग्गा नापजाँच गरेर वर्षौदेखि जोतभोग गर्दै आएका स्थानीयहरुलाई लालपूर्जा वितरण कार्यलाई प्राथमिकतामा राखेको बताइन् ।
मन्त्री श्रेष्ठले सामाजिक तथा आर्थिक रुपमा पिछडिएको भूमिहीन सुकुम्बासी र दलित, अव्यवस्थित वसोबास, सीमान्तकृत वर्ग र समुदायको भूमिमा अधिकार र पहुँच स्थापित गर्ने, महिलाको भूमिमा समान अधिकार स्थापित गर्न, मुक्तकमैया, हरुवाचरुवाको बसोबास र व्यवस्थापनको विषय भूमिको उचित प्रयोगमार्फत उत्पादन बढाउनेलगायतका विषय संविधानका व्यवस्था गरिएको उल्लेख गर्दै यसको कार्यान्वयनको दिशामा अगाडी बढेको बताइन् ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि स्थानीय सरकारको सक्रियता सराहनीय रहेको बताए । उनले भूमिहीनबाट सरकारले लिने राजस्व चर्को भएको भन्दै मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए ।
कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले पुस्तौदेखि जमिनको भोगचलन गर्दै आएकाहरु पूर्जा नहुँदा समस्यामा परेको गुनासो आएपछि तत्काल यसका लागि आफूहरुले पहल गरेको बताए । इच्छाशक्ति भए भूमिहीन सुकुम्बासीहरुका समस्या समाधान गर्न सकिन्छ भन्दै उनले भने, ‘पुस्तौंदेखि बसेको घर, जोतखन गरेको जमिन सरकारकै नाममा थियो । खेतीपाती गर्ने र बस्नेबाहेक उनीहरुले आफ्नो जायजेथा बेचेर अन्त जान वा कुनै कारोबार गर्न पाएका थिएनन् । हामीले उनीहरुको गुनासो सुनेपछि तत्काल यसको समाधान खोज्यौं ।’
भोगचलन गरेको ६३ वर्षपछि लालपूर्जा पाएपछि निकै खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरुले व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्न समेतबाट वञ्चित थिए ।
त्यस्तै गैडहवा गाउँपालिका र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा गाउँपालिकाको वडा नम्बर ८ बाट पुनः नापजाँच सुरु भएको छ ।
जग्गा आवासका लागि योग्य भएको सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी तीव्र रुपमा काम गरिने गाउँपालिका अध्यक्ष पौडेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij